२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


युवा उद्यमीका जाजय सुझाव बजेटमार्फत कार्यान्वयनमा लैजाने अर्थमन्त्रीको आश्वासन


0
Shares

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा उद्यमीका जायज सुझावहरूलाई बजेटमार्फत कार्यान्वयनमा लैजाने बताउनुभएको छ ।

आगामी बजेटको सन्दर्भमा युवा उद्यमीहरूसँग सुझाव लिन शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले युवा उद्यमीहरूका सम्भव र जायज सुझावहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो । तर के सम्भव र के जायज हुन भन्ने कुरा बजेटको पूर्वसन्ध्यामा अर्थमन्त्रीले बोल्न नमिल्ने उहाँको भनाइ थियो ।

अर्थमन्त्री पौडेलले छलफलमा युवा उद्यमीहरूले राखेको सुझाव आफूलाई महत्वपूर्ण लागेको बताउनुभयो । उहाँले मुलुकले कोभिडको सामना गरिरहेको र यसबाट केही शिक्षा पाएकाले नयाँ ढङ्गले बजेट निर्माण हुने विश्वास दिलाउनुभयो । अर्थतन्त्रको पुनःउत्थानका लागि अब नीतिगत हस्तक्षेप आवश्यक रहेको अर्थमन्त्री पौडेलको भनाइ छ ।

कार्यक्रममा युवा उद्यमीहरूले भन्सारमा न्यून विजकीकरण, एग्रो प्रशिक्षण जोन, उद्योगको लगानी, बैंक फाइनान्स, बिजुलीको डिमाण्ड शुल्क, निर्यातमा भएका समस्याहरू, स्टिल उद्योगको समस्याहरूको विषय, स्टार्टअप पोलिसि लागयतका विषयमा सुझाव दिएका छन् ।

त्यसबाहेक चलचित्र क्षेत्रका समस्या, शेयर बजारको आवश्यकता, युवा उद्यमीलाई प्रोत्साहित हुनेगरी कर निर्धारण गर्नुपर्ने, जलविद्युत परियोजनाहरूको क्षमता बढाउने लगायतका विषयमा समेत उनीहरूले सुझाव दिएका थिए ।