
दीपक घिमिरे
भैरहवा । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीबाट मन्त्री बनेका सन्तोष पाण्डेलाई पार्टीका कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।
सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै पार्टीलाई थाहै नदिइ मन्त्री बनेको भन्दै उनीहरूलाई कालोझण्डा देखाइएको प्रदर्शनकारीले जनाएका छन् ।
रुपन्देहीको मर्चवार जाने क्रममा भौतिक पुर्वाधार विकास मन्त्री सन्तोष पाण्डेलाई कालो झण्डा देखाइएको हो । मन्त्री पाण्डेलाई मर्यादपूर, मझगावा र गोनहिया लगायतका स्थानमा पार्टीकै कार्यकर्ताले सडकमा टायर बालेर तथा कालो झण्डा देखाएका हुन् ।

कालोझण्डा देखाउन आएका नेता तथा कार्यकर्ताले मन्त्री पाण्डेविरुद्ध चर्का नाराबाजी गरेका थिए । प्रदर्शनकारीले बाटो छेक्ने प्रयास गरे पनि प्रहरीले बल प्रयोग गरेर मन्त्री पाण्डेलाई गन्तव्यतर्फ पु¥याएको थियो ।
पार्टी निर्णय, संसदीय दलको निर्णय तथा ह्वीप उल्लंघन गर्दै पार्टीलाई झुक्काएर पाण्डे मन्त्री बनेकाले उनको विरोध गरिएको र उनका सार्वजनिक कार्यक्रम वहिस्कार गरिने जसपा रुपन्देही अध्यक्ष रामअवतार यादवले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्