७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


चोरी गर्नकै लागि कोलम्बियाबाट बेंगलुरुसम्म आइपुगे पाँचजना


0
Shares

बेंगलुरु, साउन १० । गाउँ–सहरमा चोरीका घटना भइरहेकै हुन्छन् । तर चोरी गर्ने गिरोहका सदस्यहरु चोरी गर्ने उद्देश्यकै लागि एक देशबाट अर्को देशमा पुग्छन् भनेर धेरैले कल्पनासम्म पनि गरेका हुँदैनन् ।

भारतमा हालै कोलम्बियाका पाँच जनालाई प्रहरीले गिरफ्तार गरेपछि यस्तो रहस्य खुलेको हो ।

भारतको बेंगलुरुमा लामो समयदेखि चोरीमा संलग्न रहँदै आएको कोलम्बियाली समूहलाई प्रहरीले गिरफ्तार गरेको हो । पक्राउ परेका पाँचमध्ये तीन जना यसअघि पनि बेंगलुरु आएर चोरी गरी फर्किएको पाइएको छ ।

बेंगलुरु प्रहरीका अनुसार उक्त गिरोहले एउटा घर भाडामा लिएर चोरी कार्यलाई निरन्तरता दिदै आएको थियो । उनीहरुले सहरमा आवतजावतका लागि एउटा पुरानो गाडीसमेत किनेका थिए ।

लामो समयदेखि उनीहरु चोरीमा संलग्न रहे पनि हालै प्रहरीले सिसिटिभी फुटेजका आधारमा उनीहरुलाई पहिचान गरी पक्राउ गरेको हो ।

बेंगलुरुका अतिरिक्त प्रहरी आयुक्त (पश्चिम) बीके सिंहका अनुसार उनीहरुले आपसमा सम्पर्क स्थापित गर्नका लागि वाकीटकीसमेत प्रयोग गर्दै आएका थिए ।

उनीहरुले आधुनिक प्रविधि प्रयोग गरेर चोरी गर्दै आएको तथ्य प्रकाशमा आएको छ । पाँचजनाको समूहमध्ये एकजना महिला छिन् । चोरी गर्नुअघि उनीहरुले घरको रेकी गर्ने, नक्सा तयार पार्ने र घरमा कोही नभएको मौका छोपी चोरी गर्ने गरेको बताइन्छ । चोरीका क्रममा महिला सदस्य भने घर बाहिर मानिसको आवतजावत निगरानी गर्ने, एक जना सदस्य चोरीपछि भाग्नका लागि सवारी साधन तयारी अवस्थामा राख्ने र बाँकी तीनजना घरभित्र पसेर सामान चोरी गर्ने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो । (एजेन्सी)