१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रसुवागढी नाका बन्द हुँदा अन्तरदेशीय प्रसारण लाइनको काम अघि बढेन


0
Shares

रसुवा । रसुवागढी नाकाबाट मानिसको आवतजावत खुला नहुँदा चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइनको काम सुरु हुन सकेको छैन ।

कोरोना महामारीका कारण एक वर्षदेखि नाकामा मानिसको आवतजावत रोकिए पछि नेपाल तर्फ गर्नुपर्ने अवलोकन रोकिंदा प्रसारण लाइनको काम सुरु गर्न नसकेको हो ।

आयोजनाका अनुसार नाकाबाट आवत जावत हुन नपाउँदा संयुक्त रूपमा गर्नुपर्ने लोड फ्लो टेष्टको काम रोकिएको छ ।

टेष्टको काम सकिए पछि दुवैले संयुक्त रूपमा डिपिआर निर्माण गर्नु पर्ने कार्य समेत हुन नसकेको आयोजना प्रमुख कोमल नाथ आत्रेयले जानकारी दिनुभयो ।

प्रसारण लाइनमा ३ हजार मेगावटदेखि ५ हजार मेगावाट विद्युत् प्रवाह हुने आयोजनाले जनाएको छ ।

प्रसारण लाइन निर्माण भए पछि नेपालमा उत्पादन भएको विद्युत् चीनले समेत खरिद गर्न सक्ने छ ।

प्रसारण लाइन निर्माण भएमा नेपालले बंगलादेशलाई समेत विद्युत् बेच्न सक्ने छ । नेपालतर्फ ४ सय केभी डबल सर्किट र चीनतर्फ ५ सय केभी डबल सर्किट लाइन हुने आयोजनाले जनाएको छ ।

चीनको केरुङदेखि नेपालको रातमाटेसम्म प्रसारण लाइन निर्माण हुने छ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत आयोजना विकास विभागले अन्तरदेशीय प्रसारण लाइन ६ वर्ष भित्र सक्ने लक्ष्य राखि काम गरि रहेको छ ।