२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिममा पनि सत्ता फेरबदलको कसरत


0
Shares

बिराज रोस्यारा
कैलाली । केन्द्रको राजनीति तातेसंगै सुदूरपश्चिम प्रदेशमा पनि सत्ता फेरबदलको कसरत शुरु भएको छ ।

अहिले माओवादी र एमालेको माधव नेपाल समुह सरकारमा रहेकोमा यही सरकारलाई निरन्तरता दिने वा नयाँ समिकरण बनाउने भन्ने कसरतमा दलहरु लागेका हुन् ।

सुुदूरपश्चिम प्रदेशसभामा नेकपा एमाले ठुलो दल भए पनि उसको समर्थनमा माओवादी केन्द्रको सरकार छ ।

सर्वोच्च अदालतले नेकपा खारेज गर्दै दुवै दललाई साविककै अवस्थामा फर्काएपछि सुदुरपश्चिम प्रदेशमा एमालेले सरकार निर्माणका लागि दावी गर्न सक्ने अवस्था देखिएको हो ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५, माओवादी केन्द्रका १४, नेपाली काँग्रेसका १२ र जसपा नेपालका दुई सांसद छन् ।

५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा २७ सांसदको समर्थन आवश्यक पर्दछ ।

तर एमालेका २५ सांसदमध्ये झलनाथ–माधव पक्षका २० सांसद छन् । ओली समुहले एमालेकै नेतृत्वमा सरकार बनाउन चाहेपनि माधव समुह भने आफु सरकारमा टिकिरहने र माओवादी नेतृत्वकै सरकारलाई जोगाउने कसरत थालेको छ ।

यता, एमाले संसदीय दल सुदूरपश्चिम प्रदेशका नेता प्रकाश शाहले बर्तमान सरकारलाई नै निरन्तरता दिने बताउनुभएको छ ।

पुर्व मन्त्री झपट बोहरा एमालेमा प्रवेश गरिसकेपछि उहाँलाई पाटीले कारवाही गरिसकेको छ ।

माओवादी, कागं्रेस र एमालेका अब बराबर सांसद रहने छन् । त्यसका लागी जनता समाजबादी पार्टीलाई दुबै पक्षले साथमा लिनै पर्छ ।

कागं्रेसले सत्तामा नजाने भनिरहेपनि अहिले नेतृत्व लिन तयार रहेको संकेत गरेको छ । सामान्यतया अन्य दलहरुसंग छलफल गरिरहेको कागं्रेसले पनि निर्णय पर्खिरहेको कागं्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशका नेता डाकटर रण बहादुर रावलले जानकारी दिनुभएको छ ।

अन्य समय चर्चामा नआएको जनता समाजबादी पार्टी अहिले सरकार हेरफेरका बेला भने चर्चामा आउन थालेको छ ।

२ जना सांसद रहेको जनता समाजबादी पार्टीसंग औपचारिक रुपमै वार्ता नभएपनि अनौपचारिक कुरा भने अन्य दलहरुसंग चलिरहेको छ ।

तर जसपा संसदीय दलले भने सरकारमा जाने या समर्थनका लागी कसैसंग छलफल नभएको जनता समाजवादी पार्टी संसदीय दलका सुदुरपश्चिम प्रदेशका नेता कृष्ण चौधरीले बताउनुभएको छ ।

संघको राजनीतिले सुदूरपश्चिमको राजनिति निकै तातिरहे पनि एमालेकै विवादका कारण सुदुरपश्चिम प्रदेश सरकार कसको नेतृत्वमा बन्ने त्यो टुंगो लाग्न सकेको छैन । दुइवटा मन्त्रालय मन्त्री बिहिन छन् ।

एमाले, माओवादी तथा कांग्रेस कसको नेतृत्वमा सरकार बन्छ त्यो प्रस्ट हेर्न भने बाँकी नै छ ।