
काठमाडौं । जनस्वास्थय विज्ञ डा. रविन्द्र पाण्डेले नेपालबाट भारतमा ब्ल्याकमा अक्सिजन गइरहेको बताउनु भएको छ ।
इमेज एफएमसँग कुरा गर्दै डा. पाण्डेले भारतमा अक्सिजनको चरम अभाव भएपछि नेपालबाट ब्ल्याकमा अक्सिजन बेचिएको बताउनु भएको हो ।
‘नेपालमै अक्सिजन अभाव भइरहेको छ’ उहाँले भन्नुभयो’ ‘भारतमा ब्ल्याकमा पठाउने यो कुन हदसम्मको लारपवाही हो ।’
नेपालमा कोरोना दोस्रो लहर सुरु हुनु अगावै अक्सिजनलगायत स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न सरकारलाई बारम्बार सुझाएको डा.पाण्डेको भनाई छ ।
‘नेपालमा सरकार तथा नागरिकले यस्तै लापरवाही गरे वैशाखको अन्तसम्ममा भयावह अवस्थाको सिर्जना हुनेछ’, पाण्डेले भन्नुभयो ।
‘पहिले एक जनालाई कोरोना भएपनि अर्को सदस्यलाई हुँदैनथ्यो तर अहिले परिवारनै अस्पतालमा भर्ना हुने अवस्था छ’, उहाँले भन्नुभयो, ‘सरकारले जनस्तरदेखिनै मापदण्डमा कडाइ गर्नुपर्ने देखिन्छ ।’
कोरोना विरुद्धको मापदण्ड बनाएर पनि सरकारले नै पालना नगरेकाले जनस्तरबाट सरकारप्रतिको विश्वास गुम्नु स्वभाविक भएको उहाँको भनाइ छ ।
जनतालाई विश्वासमा लिनको लागि भएपनि सरकारका मन्त्रीलाई बोल्नु अघि मास्क लगाउन पाण्डेले सुझाव दिनु भएको छ ।
नेपालमा सरकार र आम नागरिकबाट पनि गल्ती भएको भन्दै डा. पाण्डेले राजनीतिक दलका नेता र विभिन्न क्षेत्रका अगुवाहरुले स्वास्थ्य मापदण्ड पालना गरे समाजमा राम्रो सन्देश जाने बताउनुभयो ।
पाण्डेले सरकार राजनीतिक लडाइमा व्यस्त रहेकाले कोरोना नियन्त्रणमा चासो नदेखाएको आरोप लगाउनुभयो ।
सरकारले रणनीति बनाएर तुरुन्त कडा कदम नचाले देश वैशाखसम्म अकल्पनीय अवस्थामा पुग्ने डा. पाण्डेको दावी छ ।
गतवर्षको जस्तो गल्ती नदोहोयाउदै लकडाउन गर्नुअघि अध्ययन गरेर मात्रै गर्न सरकरलाई पाण्डेले सुझाव दिनुभयो ।
‘हचुवाको भरमा लकडाउन गर्नुको कुनै औचित्य छैन्’, उहाँले भन्नुभयो, ‘लकडाउन कहाँ, कसरी गर्ने र कसरी खोल्ने भन्ने विषयमा अध्ययन गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्