
केशव कोइराला
बर्दिया । एकपल्ट बेर्ना लगाएपछि चार पाँच वर्ष सम्म विरुवा लगाउन नपर्ने, विरुवा सानो छदाँको समयमा मिश्रित खेती गरी दोहोरो आम्दानि लिन सकिने र विभिन्न संस्थाहरुले किसानहरुलाई बेर्ना लगायतका अनुदान सहयोग समेत दिने हुँदै यहाँका किसानहरु केरा खेती प्रति आकर्षित बनेका हुन् । अन्य खेतीबाट खासै आम्दानी नहुने र परिवार धान्न समेत धौ धौ हुने गरेकामा केरा खेती गर्दा मनग्य आम्दानी हुने गरेकाले केराखेतिनै गर्ने गरेको राजापुर– ६ महुवाका किसान चेतराम थारु थारुको बताउनुहुन्छ ।
हाल बर्दियामा वार्षिक ३ हजार मेट्रिक टन केराको खपत हुन्छ । केराको माग लाई बर्दियाको उत्पादनले मात्र सम्बोधन गर्न नसकेपछि छिमेकी जिल्ला कैलाली, बाँके र भारतीय केराले पूरा गर्दै आइरहेको छ । हाल उत्पादन भन्दा माग धेरै भएकाले किसानले उत्पादन गरेको केरा सजिलै बजार पाउने गरेको छ । केराखेती नगदेबाली भएको र राम्रो आम्दानी लिन सकिने राजापुर–४ दलैका दिप धर्तीले बताउनुभएको छ ।
केरा खेती अन्य परम्परागत अन्न बाली भन्दा सजिलो, विषादीको न्यून प्रयोग र उच्च आम्दानी हुने भएकाले किसान यसतर्फ बढी आकर्षित हुँदै गएका छन् । पछिल्लो समयमा होटल रेष्टुरेन्टहरुमा पनि केराको मःमः वाइन, चिप्सलगायतका विभिन्न परिकारहरु बिक्री हुने भएकाले पनि केराको बजार बिस्तार भएको कृषि प्राविधिक रमेश वलीले बताउनुभएको छ ।
पछिल्लो समय केरा खेतीमा धेरै सम्भावना भएता पनि बेला बेलामा आउने हावा हुरीले केराको बगैंचामा गर्ने नोक्सानी र बिमाले समयमै किसानहरुलाई भुक्तानी नदिँदा उत्साहित किसानहरु केरा खेती बिस्तार गर्न भने डरलागेको महुवाकै अर्का किसान लौटन थारुको भनाइ छ ।
नगदे बालीको रुपमा चिनिएको केरा खेतीको नेपाली बजारमा सम्भावना भएपनि भारतबाट आउने सस्तो र कम गुणस्तरको केराले नेपाली किसानहरु मर्कामा परेको बताउँछन् । बजारको सुनिश्चितता र टिस्युकल्चर प्रविधिबाट उत्पादित बेर्ना किसानलाई सहजै उपलब्ध गराउन सके अझ धेरै किसान यसतर्फ आकर्षित भइ केरामा आत्मनिर्भर हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्