
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार बिहान ६ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ ।
सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
पहिलो चरणमा एक हप्ता निषेधाज्ञा लागु गरिने भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयाे ।निषेधाज्ञाको विस्तृत सूचना केहीबेरमा सार्वजनिक हुँदैछ ।
उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने पनि उनले बताए । उनका अनुसार निजी र सार्वजनिक यातायात दुवै बन्द गरिनेछ । त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा पनि रोक लगाइने तयारी छ ।
कोरोना भाइरसको संक्रमण तीव्र भएपछि हिजो बसेको कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन केन्द्रले पनि ५ सय भन्दा बढी सक्रिय संक्रमित भएका शहरमा निषेधाज्ञा जारी गनुपर्ने सिफारिस गरेको थियो ।
यस्तै बैठकले पहाडी जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित भएपछि लकडाउन गर्न पनि भनेको थियो । काठमाडौं उपत्यकामा अहिले १ हजार भन्दा बढी सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस्