
काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले प्रधानमन्त्री ओली र उहाँका गुटका मानिसलाई सरकारी निर्णय लाग्दैन भन्ने प्रश्न गर्नुभएको छ ।
सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै रावलले कोरोनाबाट जोखिम अरुलाई भेला बैठक, समारोह नगर्न आग्रह गर्ने प्रधानमन्त्री र उहाँका निकटस्थहरू नै भेला, बैठक र समारोह गरिरहने भन्दै प्रश्न उठाउनुभएको छ ।
उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘प्रधानमन्त्री ओली गुटलाई सरकारी निर्णय लाग्दैन र ? कि उहाँको गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो ? कानूनका सामु सबै बराबर होइन र ?’
कोरोनाबाट जोगिन अरूलाई भेला,बैठक,समारोह नगर्न भन्ने तर प्रमं ओली र उहाँका निकटस्थहरू भेला,बैठक,समारोह गरिरहने,यो के हो?प्रमं ओली गुटलाई सरकारी निर्णय लाग्दैन र? कि उहाँको गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो?! कानूनका सामु सबै बराबर होइन र?
— Bhim Rawal, PhD (@BhimRawal179) April 26, 2021
देशमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । आइतबार मात्र २८ जनाको कोरोना भाइरसकै कारण ज्यान गएको छ भने एकैदिन ३१ सय भन्दा धेरैमा संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
सरकारले २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने नियम ल्याएको भए पनि प्रधानमन्त्री आफैँले धरहरा उद्घाटन, बालुवाटारमा भएको महाधिवेशन आयोजक कमिटीको बैठकमा सैयौंको भीड जम्मा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्