१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भेरी अस्पतालमा कोरोना संक्रमितका लागि स्वाथ्यकर्मी अभाव, १२ सय सक्रिय संक्रमित


0
Shares

काठमाडौं । पश्चिम क्षेत्रको सबैभन्दा ठूलो सरकारी सरकारी अस्पताल भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीहरूको अभाव भएको छ । जसका कारण संक्रमितहरू उपचारबाट बन्चित भएका छन् । गत बर्ष सरकारले केन्द्रबाटै चिकित्सक पठाएर सहयोग गरेको भए पनि यसपटक चिकित्सक अभावमा अवस्था भयवाह भइसकेको छ ।

दाङ तुलसीपुरका सन्तोष वली १२ दिनदेखि कोरोना संक्रमित छन् । उनी भेरी अस्पताल आसपासमा उपचारको लागि दौडधुप गरिरहेको भेटिन्छन् । आफूसँगै संक्रमित श्रीमतीको उपचारका लागि उनको दौडधुप बढेको हो । अस्पताल बसाई उनका लागि निकै कष्टकर बनेको छ ।

केही दिन अघिमात्रै उनले कोरोना संक्रमणकै कारण छोरी गुमाएका छन् । दाङ्मा स्टाफ नर्सको रूपमा कार्यरत रहँदा उनकी छोरी संक्रमित भएकी थिइन् । उपचारकै क्रममा मृत्यु भयो । यस्तो पिडाकाबीच अस्पतालमा राम्रो उपचार गराउन नसकेको उहाँको गुनासो छ ।

यो त प्रतिनिधि घटना मात्रै हो । भेरी अस्पतालमा यसैगरी कोरोना संक्रमित भई छट्पटाइ रहेकाहरू प्रशस्त भेट्न सकिन्छ । भेरी अस्पतालको कोरोना बेड भरिएपछि स्थिति नियन्त्रण बाहिर गएको हो । कोभिडको लागि छुट्याइएको १ सय ४२ बेड भरिए पनि संक्रमित अस्पताल भर्नाको लागि आउने क्रम जारी छ ।

कोभिडका विरामीलाई भर्ना गर्न नसकेर मुकदर्शक भएर बस्नुको विकल्प नभएको चिकित्सकहरूले बताएका छन् । आइसोलेसनको अभावका कारण संक्रमितहरू उपचार पाउनबाट बञ्चित छन् । अस्पतालमा जटिल अवस्थाका बिरामीहरू थपिने क्रम बढ्दो छ । भर्ना भएका बिरामीहरू डिस्चार्ज भएपछि मात्रै अर्को संक्रमितले बेड पाउने अवस्था रहेको भेरी अस्पतालका फिजिसियन डाक्टर संकेत रिसालले बताउनुभयो ।

जिल्लाभर १ हजार २ सय ६६ सक्रिय संक्रमित छन् । अस्पतालमा भर्ना भएका बाहेक केहीलाई राँझा विमानस्थल नजिकैको ह्वाइट हाउस आइसोलेसन सेन्टरमा राखिएको छ भने केही होम आइसोलेसनमा छन् ।

भेरी अस्पतालले कोरोनाको संक्रमण फैलिने क्रम नरोकिए समग्र स्वास्थ्य प्रणाली नै फेल हुनसक्ने बताइसकेको छ । दैनिक एक सयभन्दा बढी कोरोनाका विरामीहरू थपिदै गएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका ६ जनाको मृत्यु भएको छ ।