
अक्कल कुँवर
काठमाडौं । मुलुक कोरोना संक्रमणको दोस्रो लहरले आक्रान्त बनेको छ । दिनदिनै संक्रमित र मृतकको संख्या बढ्दो छ । संक्रमण यसरी बढिरहेको छ कि मुलुकको स्वाथ्य पूर्वाधारले थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ । राष्ट्रिय संकटको यस्तो बेला पनि मुलुकको शासनसत्ता चलाउने जिम्मा लिएका राजनीतिक दलहरू भने सत्ता स्वार्थमै केन्द्रीत रहेका छन् ।
कोरोना संक्रमणको दोस्रो लहरले मुलुक आक्रान्त भइरहेका बेला मुलुक र जनताको आवश्यकता एकातिर छ भने जनताकै प्रतिनिधि ठान्ने राजनीतिक दलहरूको ध्यान अर्कैतिर छ । राष्ट्रिय सहमति गरेर कोरोना संकटसँग जुध्नपर्ने बेला मुलुकका मुख्य राजनीतिक दलहरू सत्ता बचाउने र फेरबदल गर्ने बेमौसमी स्वार्थगत हिसाव कितावमा व्यस्त छन् ।
आफ्नै पार्टीले नेतृत्व गरिरहेको सरकारले वैशाख ६ गते जारी गरेको स्वाथ्य मापदण्डको खिल्ली उडाउँदै नेकपा एमाले राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक पटक–पटक बसिरहेको छ । तर, बैठकमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण जस्तो राष्ट्रिय आवश्यकताको विषय एजेण्डा बन्न सकेन । महामारीबीच बसेका सबै बैठक आफ्ना विरोधी तह लगाउने र सत्ता जोगाउने एजेण्डामानै केन्द्रीत रहे ।
सत्तारुढ दल भए पनि सरकारमा जान नपाएको र भर्खरै पार्टी फुटको पीडाले रन्थनिएको सत्तारुढ दलको अर्को घटक माओवादी केन्द्रको पनि यसबीचमा पटक–पटक स्थायी कमिटी बैठक बस्यो । बैठक पार्टीगत पीडा बिर्साउने र पार्टीका कार्यकर्ता रिझाउने एजेण्डामा केन्द्रीत रह्यो । तर, महामारी नियन्त्रण तथा न्यूनिकरण गर्न सरकारलाई दबाव दिने र संकट समाधानको लागि खेल्नुपर्ने भूमिका यहाँको पनि एजेण्डा बन्न सकेन ।
सत्तारुढ दल मात्र होइन् विपक्षी दलको भूमिका झन् दयनीय देखिएको छ । विपक्षीको भूमिका निर्वाह गरेर मुलुकको संकट समाधानको लागि सरकारलाई थेग्नै नसक्ने गरी दबाव दिनुको सट्टा कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयासस्वरुप सांसद् जोडघटाउको हिसावकितावमा रुमल्लिएको छ ।
अर्को प्रतिपक्ष दल जनता समाजवादी पार्टी जसपाको पार्टीगत पीडा त झन् हेरिनसक्नु छ । पार्टीभित्रको एक पक्ष वर्तमान ओली नेतृत्वको सरकारलाई कसरी टिकाउने भन्नेमा केन्द्रीत छ भने अर्को पक्ष वर्तमान सरकार गिराएर बन्ने अर्को सरकारमा आफ्नो भाग सुरक्षित गर्नेमा केन्द्रीत छ ।
पार्टीको लागि भोटको मुख्य आधार रहेको क्षेत्र कोरोना संक्रमणले आक्रान्त बनिरहँदा पनि जसपाको एजेण्डा बन्न सकेको छैन । राष्ट्रिय राजनीतिमा खासै प्रभाव नराख्ने र जनाधार नभएका साना दलहरूको त अस्तित्व नै संकटको अवस्थामा छ ।
कोरोना महामारीले सम्पूर्ण क्षेत्र चौपट भइरहेका बेला मुलुकको शासनसत्ता सम्हालिरहेका दलहरू सत्ताको फेरबदल र पार्टीगत तथा व्यक्तिगत स्वाथपूर्तिमा केन्द्रीत छन् । दलहरूका गतिविधिले कामकुरो एकातिर कुम्लो बोकी ठिमितिर उखानलाई चरितार्थ गरेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्