
प्रदीप पौडेल
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १ महिलासहित थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २५ घण्टामा ४ जनाको मृत्यु भएसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १५ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयले सोमबार विज्ञप्ति जारी गर्दै मृत्यु हुनेको विवरण पनि सार्वजनिक गरेको छ । मृत्यु हुनेमा स्याङ्जाको वालिङका ५८ वर्षीय पुरुष, म्याग्दीको रघुगंगाका ७८ वर्षीय पुरुष र पोखराका ९१ वर्षीय पुरुष र ५५ वर्षीया महिला रहेका छन् ।
गण्डकीमा गएको २४ घण्टामा १ सय १ संक्रमित फेला परेका छन् । तीमध्ये कास्कीका मात्रै ६९ जना छन् । कास्कीमा हाल सक्रिय संक्रमितको संख्या ७ सय नाघिसकेको छ ।
यसैबीच, पोखरा महानगरपालिकाभित्र संक्रमित दर बढ्दै गएपछि महानगरभित्र निषेधाज्ञा तयारी गरिएको छ ।
काठमाडौं उपत्यकाभित्र आगामी वैशाख १६ देखि निषेधाज्ञा घोषणा गरिएसँगै कोरोनाको उच्च जोखिम कास्कीमा पनि निषेधाज्ञा हुन सक्ने आमसर्वसाधारणको अनुमान बमोजिम जिल्लामा सोको तयारी गरिएको स्रोतले जनाएको छ ।
केही बेरमै डिसिसिएमसीको बैठक बसी पोखरा महानगरपालिकाका ३३ वटा वडाभित्र मात्र निषेधाज्ञा गर्नेबारे निर्णय हुने बुझिएको छ । पोखरामा संक्रमितको दर बढेपछि अस्पतालहरुमा बेड समेत पाउन मुस्किल भएको बिरामीहरुको आउन थालेको छ ।
सहरी क्षेत्रमा ५ सय बढी सक्रिय संक्रमित भए निषेधाज्ञा गर्न सकिनेबारे सम्बन्धित स्थानीय तहलाई अधिकार दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्