२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


कोरोनाको संक्रमणको अवस्थालाई थप जटिल हुन नदिन सरकारसँग नेपाली कांग्रेसको माग


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ संक्रमणको परिस्थितिलाई थप जटिल हुन नदिन हरसम्भव उपाय अपनाउन सरकारसँग माग गरेको छ ।

सोमबार सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्यकर्मीहरूको मनोवल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनेतर्फ गम्भीर बन्न माग गर्नुभएको हो ।

कोभिड–१९ बाट नागरिकलाई सुरक्षित राख्ने भरपर्दो माध्यम खोप भए पनि सरकार समयमै गम्भीर नबन्दा खोपको समुचित व्यवस्था हुन नसकेको सभापति देउवाको भनाइ छ । उहाँले भारत र चीनलाई खोपको लागि धन्यवाद दिँदै थप खोपको व्यवस्थापनको लागि कुटनीतिक सक्रियता बढाउन आग्रह गर्नुभएको छ ।

साथै सभापति देउवाले सम्पूर्ण नागरिकमा अनिवार्य मास्क लगायतका सुरक्षाका व्यवस्था र संक्रमण रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सुरक्षा प्रोटोकलको अनुसरण गर्न पनि अनुरोध गर्नुभएको छ ।