
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का प्रमुख टेड्रोस एडहनम गिब्रिएसुसले भारतमा फैलिएको कोरोना महामारीको विषयमा चिन्ता व्यक्त गर्नुभएको छ ।
विश्वका थुप्रै राष्ट्रहरुमा एकैसाथ फैलिएको कोरोनाको फरक फरक चरणकाबीच भारतमा कोरोना महामारीले विकराल रुप लिएको भन्दै भारतका लागि डब्ल्युएचओले अक्सिजन र मोबाइल फिल्ड अस्पतालहरु आपूर्ति गर्ने जनाउनुभयो ।
गिब्रिएसुसले भारतका जनताले अक्सिजन अभावका कारण धमाधम ज्यान गुमाएकोप्रति दुःख व्यक्त गर्दै डब्ल्युएचओले भारतका लागि स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
भारतमा पछिल्लो ६ साता कोरोना महामारी बढ्दै जाँदा संक्रमण र मृत्यु दर ह्वातै बढेपछि डब्ल्युएचओले चासो व्यक्त गरेको हो ।
यसैबीच फेसबुकका संस्थापक मार्क जुकरबर्गले कोरोना महामारी फैलिएका राष्ट्रहरुका लागि १ करोड डलर सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
जुकरबर्गले भारतमा फैलिएको कोरोना महामारीप्रति चिन्ता व्यक्त गर्दै युनिसेफसँग मिलेर भारतलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
भारतमा कोरोनाका कारण हालसम्म १ लाख ९७ हजार ८ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ करोड ७६ लाख २५ हजार ७ सय पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्