
सञ्जिव कार्की
निष्ठा, सरलता, संघर्ष र समर्पणका प्रतीक देवी न्यौपानेलाई दैवले क्रूरतम मृत्यु , बीभत्स हर्कत गरेर रोजायो । श्रम गरेर खानुपर्छ, आफूले सकेको काम गर्नु शरीर मन क्रियाशील राख्नुपर्छ भन्ने श्रमका पूजारी देवी दाइलाई रुख काटने क्रममा २०७८ बैशाख ९ गते रुखको किचाइबाट मृत्युको प्रिय बन्नु पर्यो, तर आम मान्छेले नियतिको त्यो अनिवार्य सत्यलाई स्वीकार गर्दा गर्दै पनि मृत्युको प्रक्रियाप्रति चरम आक्रोश र असन्तुष्टि पोखेर दैवको लीलासँग मतभेद राखे । मृत्यु नियमित आकस्मिकता हो परन्तु , त्यस्तो क्रूर मृत्यु देवी जस्तो सरल र इमानदार मान्छेको लागि ईश्वरले दिनु न्यायसंगत थियो त ? पक्कै थिएन ? जसले राजनीतिलाई निष्ठा, समर्पण र सेवा सम्झिएर जीवन भर आफ्नो विश्वास र आस्थामा सतिशाल बनेर उभियो त्यही सादगी मान्छेसँग दैवको निष्ठुर ठट्टा ? ईश्वरको विश्वास र भरोसा गर्ने आम मान्छेले देवीलाई दिएको त्यो सजायसँग गम्भीर रुष्टता छ ।
मृत्यु जन्म दिनकै दिन करार गरिएको अन्तिम सत्य हो तर मृत्यु कस्ता कस्ता मान्छेको लागि कस्तो हुनुपर्ने हो त्यो दैवको बिधान सच्याउन पर्ने देखिन्छ देवीलाई गरेको अन्याय देखेर ? यदि ईश्वर छ्न भने तिनको बिधान निस्पक्ष छैन । निस्पक्ष बिधान र प्रक्रियामा देवी जस्ता असल सामाजिक मान्छेको लागि मृत्युको त्यो हदको क्रूरता नहुनुपर्ने हो । त्यसैले ईश्वरको अस्तित्व र विवेकप्रति प्रश्नहरु बारम्बार उठेपछि अब हुने कार्य सम्पादन, फैसला चित्तबुझ्दो र न्यायिक हुनु जरुरी छ । ईश्वरले सच्चिनु अत्यावश्यक छ । नेपाली काङ्ग्रेसका पुराना नेता जसलाई उनकै पार्टी नेपाली काङ्ग्रेस र दैव दुवैको असंगत दृष्टिको संयोग रह्यो । सादगी नेतालाई दैवले भयानक अन्याय गरेर मार्यो भने काङ्ग्रेस पार्टीले उनको योगदान र निष्ठाको कदर गर्न नसकेर, नजानेर, नगरेर जीउँदै पटकपटक मार्यो । अपमान गर्यो, असह्य पिडा दियो ।
२०४६ देखि थुप्रैपटक सरकार र अवसरको वितरण गर्ने ठाँउमा रहेर पनि स्वर्गीय न्यौपानेलाई काङ्ग्रेसले सम्झेन । अरु पार्टीबाट काङ्ग्रेस प्रवेश गरेकै दिन पार्टीको केन्द्रिय पदाधिकारी, सँसद, मन्त्री र विभिन्न लाभको अवसर दिने काङ्ग्रेसले आफ्नो पुरानो र संघर्सशील कार्यकर्तालाई उचित अवसर दिन कन्जुस्याइँ गरिरह्यो । कुन योग्यताको अभाव थियो र काङ्ग्रेसले देवीलाई अन्याय गर्यो । हिजोको काङ्ग्रेसको लागि देवी योग्य थिए किनकि त्यतिबेला काङ्ग्रेस आफ्नो आदर्श र निष्ठामा विचलित थिएन । तर आज काङ्ग्रेस आदर्श च्युत हुँदै गएको कारण देवी जस्ता निष्ठा आदर्श र सरलतालाई आफ्नो जीवन शैली बनाउनेहरु बिरानो लाग्छ । आफ्नो जीवनकालमा काङ्ग्रेसले पार्टी बाहिर देवीलाई दिएको अवसर भनेको २०५७ सालमा दोलखा जिल्ला स्तरमा गठन भएको सुकुम्बासी समस्या सामधान आयोगको अध्यक्ष मात्रै हो । तर देवी न्यौपाने त्यस्ता काङ्ग्रेस नेता हुन जसमा स्वर्गीय बि पि कोइराला, सरोज कोइराला, भीम बहादुर तामाङ जस्ता नेताको सानिध्य, संगत र छत्र छाँयाको लिगेसी थियो तसर्थ कहिल्यै काङ्ग्रेससँग बेलगाव र कम लगावको बन्न दिएन ।
राजनीति सेवा र संस्कार भएको ठान्दै राजनीतिमा समर्पित देवी न्यौपाने काङ्ग्रेस राजनीतिसँग कहिल्यै निराश भएनन् । दुखले नछुने अदभूत क्षमता थियो देवीसँग ? आधारभूत वर्ग र परिवारमा जन्मेका देवीका थुप्रै दुख थिए, आर्थिक अवस्था संतोषजनक थिएन । बहुदलीय ब्यबस्था प्राप्तिको लागि भनेर २०३६ सालमा स्थायी शिक्षण सेवाबाट राजिनामा दिएर बहुदलवादको पक्षमा खटेका देवी त्यागका अनुपम उदाहरण हुन । विद्यार्थी काल देखि नै जेल निर्वासन र असहज राजनीति रोजेका न्यौपाने स्थायी जागीर समेत छोडेर राजनितिमा होमिदा घर परिवारको अवस्था कस्तो थियो होला सहजै अनुमान गर्न सकिन्छ । ७ सन्तानको लालनपालन र रेखदेख गरेर आफ्ना पतिको राजनीतिक सक्रियतालाई मलजल पुर्याउने देवीकि जीवन संगिनीको योगदान पनि देवीको निष्ठा भित्रको कारण हो ।
सामान्य आर्थिक अवस्थाका बाबजूद पनि २०२७ साल तिर नै काठमाडौं पठाएर उच्च शिक्षाको वातावरण बनाई दिने बाबु गोपीलाल न्यौपाने र दाजु कृष्ण प्रसाद न्यौपाने देवीको राजनीतिक र शैक्षिक उन्न्यनका अमुल्य निधि हुन । जेल, निर्वासन र राजनीतिका आरोह अवरोहका साक्षी,भोक्ता र दर्शक देवी आफ्नो अवस्था नाजुक बन्दा र हुँदा पनि राष्ट्रको अवस्था र व्यवस्था मजबुत बनाउन लागिपरे । आफ्नो दुखको पर्वाह नगरि काङ्ग्रेस बनाउन र जिताउन लाग्ने देवीलाई काङ्ग्रेसले भने यथोचित सम्मान दिन हिचकिचायो ? त्यो किन ? किनभने देवीसँग निष्ठा थियो धन दौलत थिएन । मनि, मसल्स र मतलवसँग सरोकार राख्ने आजको विकृत राजनीतिमा देवी जस्ता निष्ठा र समर्पणमा बांच्नेहरुका लागि पार्टीले दिने विभिन्न मोर्चाको चुनावी टिकट र अवसर एकदम दुर्लभ र दुरुह हो यद्यपि त्यो अपवाद पनि देवीको हकमा लागू हुन सम्भव भएन । तर पनि देवी न्यौपानेको आस्था विश्वास र अठोटमा यदाकदा पनि असन्तुष्टि र सार्वजनिक आक्रोस व्यक्त हुँदैनथ्यो ।
देवी राजनीतिमा खारिएका इस्पात हुन । नेपालको लोकतान्त्रिक आन्दोलन र काङ्ग्रेसको इतिहास लेख्दा नछुटने नाम देवी प्रसाद न्यौपाने हो । “सहिद सरोज कोइरालाको हत्या २०३० कार्तिक २ गते भारतको मधुवनीमा हुँदा गोली लागेका सरोजलाई पानी खुवाउने र अन्तिम श्वास आफ्नै काखमा फेराउने एतिहासिक पात्र हुन भनेर सम्झना गर्छन् दोलखा काङ्ग्रेसका पूर्व सभापति उद्दवराज काफ्ले । ” नेपाली काङ्ग्रेसको इतिहास लेखन र थुप्रै प्रसङ्ग र घटना, स्मरण र स्मारिकामा देवी न्यौपानेको नाम पढ्न पाइन्छ । यसबाट पनि थाहा लाग्छ देवी काङ्ग्रेसका उल्लेख नेताकार्यकर्ताको गणनामा पर्ने राजनितिज्ञ हुन ।
राजनीतिक रूपमा संधै प्रतिस्पर्धा र प्रतिद्वन्द्वी बनेका नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वर चन्द्र पोख्रेल प्रजातान्त्रिक योद्धा, असल, सरल ब्यबहारिक समझदार अनुभवी नेता दोलखाले गुमाएको बताउछन् । काङ्ग्रेस सभापति रुद्र बहादुर खडका भीम बहादुर पछिको आदर्शवान र सरल नेताको रूपमा देवी न्यौपानेको स्मरण गर्छन् उहाँको निधनले ठूलो क्षति भएको र आफू मर्माहत भएको रुद्रको अनुभुति छ । २०२७ सालमा पुरानो नेशनल कलेज हालको शंकरदेव क्याम्पसमा अध्ययनरत रहँदा सोलुका तत्कालीन काङ्ग्रेसहरु महेश बस्नेत, नर बहादुर कार्की र रमेश खडका,जनक आचार्यको संगतको कारण नेबिसंघको राजनीतिमा आकर्षित बनेका देवीदाइ गौरीशंकर छात्र संघको सद्स्यमा सूर्य ढुङ्गेलको प्यानलबाट निर्वाचित भएका थिए । काङ्ग्रेस नेताहरू कृष्ण प्रसाद भट्टराई , शेर बहादुर देउवा,प्रदीप गिरी,र बिमिलेन्द्र निधिहरुको सामिप्यमा रहेका देवीदाइ बहुदलीय व्यवस्था प्राप्ति पछि दोलखा काङ्ग्रेको नेतृत्व गरेका देवी नेपाली काङ्ग्रेसका महासमिति सदस्य हुन् ।
देवी दाइ अकल्पनीय रूपमा अस्ताउनु भयो त्यो पिडा तामाकोसी बगरले समेत अनुभुत गरेको हुनुपर्छ । दोलखा जिल्लाको इतिहासमा त्यतिधेरै मान्छे एउटा मान्छेको मलामी बनेर गएको यो पहिलो घटना हो । एकैपटक त्यतिधेरै मान्छेले मलामी बनेर तामाकोसीको छाती दुखाएको प्रथम पटक हो । हजारौं मान्छे अश्रु पुरित नजर लिएर तामाकोसीमा पुगेका थिए । स्वर्गीय न्यौपानेको अन्तिम श्रद्धाञ्जलीको लागि सबै पार्टीका नेताकार्यकर्ताको सघन उपस्तिथि थियो । काङ्ग्रेस केन्द्रले पनि सहमहामन्त्री डाक्टर प्रकाशशरण महतलाई देवी न्यौपानेको श्रद्धा र सम्मानको लागि पठाएको थियो । २०७८ बैशाख १० मा तामाकोसीको किनारमा देवी प्रति श्रद्धाञ्जली अर्पण गर्दै काङ्ग्रेस पार्टीले देवीलाई अवसर दिन चुकेको र त्यो खुटको आफ्नो लागि पनि रहेको महतको स्विकारोत्ती थियो । आगामी दिनमा परिवारजनलाई सहयोग र सम्मान गर्ने महतले वचन बद्द्ता गरेका थिए ।
हजारौं बिद्यार्थीका गुरु देवी न्यौपानेले जफेको कालापानी प्रावि र झुलेकोअमर मा वि मा शिक्षण पेसा गरेका थिए । उक्त क्षेत्र वरिपरि बाट आफ्ना गुरु र राजनीतिक नेताको सम्मानको खातिर थुप्रै मान्छेले देवीको अन्तिम यात्रामा भाव विव्हल बनेर सहभागीता जनाएका थिए । हाल काङ्ग्रेस सभापति शेर बहादुर देउवा पहिलोपटक प्रधानमन्त्रीबाट पद मुक्त भएका थिए त्यतिबेला स्वर्गीय न्यौपानेसँग यो पन्तिकार पनि देउवा निवास पुगेको थियो । देउवाले म प्रधानमन्त्री भएको बेला तिमी किन आएनौ देवी भनेर प्रश्न गरेका थिए । मलाई लागेको थियो त्यतिबेला देवी देउवाको नजिक पुगेका भए कुनै महत्त्वपूर्ण जिम्मेवारी दिने रहेछन् क्यारे तर त्यस पछि पनि देउवा तीन पटक यो देशको प्रधानमन्त्री बने तर आफ्ना समकालीन र माया गरेका नेता देवीलाई सम्झेर कुनै जिम्मेवारी दिने कष्ट गरेनन ? के छेउमा पर्दा मात्रै जिम्मेवारी पाइने हो ? पार्टीमा लामो समय काम गरेका दुख पाएका तर अवसर नपाएका इमानदार कार्यकर्ताको लागि मुल्यांकन गर्ने पद्धति र संस्कार विकास गर्नु पर्ने थिएन र ? काङ्ग्रेस चुकेको र चुक्दै गएको यस्तै कारणले हो ।
आफ्ना कार्यकर्ताको आशु, पसिना र दुखको नैतिक मुल्य नदेख्ने पार्टीको स्थिति कस्तो हुन्छ आम पार्टी झै काङ्ग्रेसको हकमा पनि त्यही हो जुन चित्र र चरित्र नेपाली राजनीतिमा छर्लङ्ग छ । काङ्ग्रेस सभापति देउवालाई विशेष अनुरोध गर्दछु। देवी न्यौपाने जस्ता हजारौं नेताकार्यकर्ता भएको काङ्ग्रेसले आफ्ना नेताको कार्य र इतिहास जिवन्त राख्न रचनात्मक र सिर्जनात्मक कार्यको थालनी गरोस् जसले गर्दा उनीहरूको कार्य योगदान चिरस्मरणिय बनाउदै र इतिहासको सही मुल्यांकन गर्ने थिति बस्न सक्छ । आदरणीय देवी दाइ तपाईंका लागि प्रजातान्त्रिक पद्धति सबथोक थियो । जिन्दगीमा हरेश कहिल्यै खाएको थाहा पाइएन । कतिपय अवस्थामा असहमति र असमझदारी व्यक्त गरेर राय बझाउदा पनि कहिल्यै बिरानो सम्झनु भएन अपन्त्व र न्यानो अभिभावकीय भुमिका निभाउनु भयो । दुखले नदुखाउने अदभूत क्षमता थियो तपाईसँग । प्रजातान्त्रिक योद्धा र आदरणीय गुरुको रूपमा सदैव श्रद्धा गर्छु । स्तब्ध छु । श्रद्धाञ्जली दाइ ! देवी न्यौपानेको शोकाकुल परिवारजन र नेपाली काङ्ग्रेस पार्टी दोलखालाई गहिरो समवेदना ! भौतिक रूपमा देवी दाइ अस्ताउनु भयो राजनीतिक चेतना र शैक्षिक ज्योतिमा तपाईंलाई अमरत्व मिल्नेछ । अल बिदा प्रिय देवी दाइ । शव्द गुच्छाबाट श्रद्धाञ्जली !
प्रतिक्रिया दिनुहोस्