१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


बैंककबाट १८ ट्याङ्कर अक्सिजन ल्याउँदै दिल्ली सरकार


0
Shares

एजेन्सी । अक्सिजनको अभावबाट गुज्रिरहेको दिल्ली सरकारले बैंककबाट १८ वटा अक्सिजनको ट्याङ्कर मगाउने निर्णय गरेको छ । मगाइएको ट्याङ्कर बुधबारदेखि दिल्लीमा आउन थाल्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिनुभयो ।

मुख्यमन्त्री केजरीवालले बैंककबाट अक्सिजनको ट्याङ्कर ल्याउनका लागि केन्द्र सरकारसँग एयरफोर्स विमान उपलब्ध गराइदिन आग्रह गर्नुभएको छ । केन्द्र सरकारले एयरफोर्स विमान उपलब्ध गराएको खण्डमा अक्सिजन ल्याउन सकिने उहाँको भनाइ छ ।

दिल्ली सरकारले फ्रान्सबाट २१ वटा तत्काल प्रयोग गर्न मिल्ने अक्सिजन प्लान्ट आयात गर्न लागेको बताउँदै त्यसले दिल्लीमा अक्सिजनको समस्या समाधान गर्ने बताउनुभयो । ल्याइएको २१ वटा अक्सिजन प्लान्टलाई दिल्लीको विभिन्न अस्पतालमा लगाइने उहाँको भनाइ छ ।

भारतमा दैनिक ३ लाखभन्दा धेरै कोरोना संक्रमित थपिँदै गएका छन् । जसमध्ये अस्पताल भर्ना भएका ९० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक भएपछि त्यहाँ अक्सिजनको अभाव भइरहेको छ । अक्सिजको अभावमा त्यहाँ दैनिक सैैयौंले ज्यान गुमाइरहेका छन् ।

यसअघि नेपाललगायत अन्य देशमा समेत अक्सिजन निर्यात गर्ने भारत अहिले भने आफैँ समस्यामा छ । भारतले तत्कालका लागि अक्सिजन निर्यातमा रोक लगाएको छ । साथै उसले अक्सिजन चाहिने कलकारखानाहरूको सञ्चालनमा समेत रोक लगाइसकेको छ ।