
विवेक पौडेल
नवलपुर । स्वदेशमै बसेर राम्रो आम्दानी दिन थालेपछि नवलपुरका युवाहरू मौरी पालनमा आकर्षित भएका छन् । जिल्लाको गैँडाकोट, देवचुली, कावासोती लगायतका स्थानियतहका युवाहरूले मौरीपालनमा चासो दिन थालेका छन् ।
मौरीपालनमा लाग्ने युवाहरूका लागि केन्द्र, प्रदेश र पालिकाहरूले आकर्षक अनुदान प्रदान गर्दा पनि युवाहरू मौरिपालनमा लागेका हुन् । देवचुली नगरपालिका–९ का चन्द्रबहादुर थापा मौरीपालनमा लागेपछि नसोचेको आम्दानी भएको बताउनुहुन्छ । कम मेहनत र आफ्नो क्षमताअनुसार पाल्न पाइने भएकाले मौरीपालनतर्फ किसान आकर्षित भएको उहाँको भनाइ छ ।
थापा मात्र होइन, उहाँ जस्ता धेरै युवा अहिले मौरीपालन गर्ने र पकेट क्षेत्रसँगै ब्लक क्षेत्र बनाउने योजनामा छन् । देवचुली नगरपालिकाकै राजेन्द्र रावलले प्रदेशको अनुदानमा ठूलै मह प्रशोधन केन्द्र स्थापना गरी सञ्चालन गरिरहनुभएको छ । विदेश जानुभन्दा पुर्ख्यौली पेशामा रमाउँदा ठिक हुन्छ भन्ने लागेर मौरीपालनमा लागेको उहाँको भनाइ छ ।
मौरीपालनका लागि युवाहरूले सामुदायिक वन समितिसँग साझेदारी गरी घार व्यवस्थापन गरेका छन् । नवलपुरमा मात्र वार्षिक ३० टन मह उत्पादन र खपत हुने गरेको छ । जिल्लामा उत्पादन भएको महको खपत राम्रो हुने भएकाले युवाहरू मौरीपालनमा बढी आकर्षित भएको नेपाल मौरीपालन व्यवसाय समिति नवलपुरका अध्यक्ष यदु कँडेल बताउनुहुन्छ ।
देशमा आम्दानीको स्रोत छैन भन्दै विदेशीनेहरूलाई नवलपुरका युवाहरू उदाहरणको पात्र बनेका छन् । आट र जाँगर चलाउने हो भने स्वदेशमै आम्दानीका बाटाहरू धेरै छन् ।
प्रतिक्रिया दिनुहोस्