
-केके मानन्धर/ईमेज:
काठमाडौं । नेपालमा बोलिने अधिकांश राष्ट्र भाषा लोप हुने स्थितिमा पुगेकोप्रति विदेशी बुद्धिजीवीहरुको समेत ध्यानाकर्षण भएको छ ।
सोहि क्रममा फ्रान्सेली नागरिक डा. फ्रेडरिक मोरोन्भालले राष्ट्र भाषा संरक्षणको उपायसहितको अभिलेखीकरण सार्वजनिक गरे ।
काठमाडौंमा भएको एक कार्यक्रमकाबीच उनले “नेपालभाषा र बुद्धधर्मको लागि नेवारहरुको अभियान” नामक विद्यावारिधि शोधग्रन्थलाई किताबको रुपमा सार्वजनिक गरे ।
अंग्रेजी भाषाको अभिलेखीकरणलाई विष्णु चित्रकार तथा सिचु चित्रकारले नेपालभाषामा उल्था गरेका छन् ।
“म नेवार, तर मलाई मेरो मातृभाषा बोल्न आउँदैन । बाटोमा भेटिएका नवयुवाको यस्तो भनाइबाट प्रभावित भएर मैले यो सोधग्रन्थ तयार गरेको छु ।”
डा. फ्रेडरिकको भनाइ उदृध गर्दै किताबलाई उल्था गरेका विष्णु चित्रकारले बताए ।
फ्रान्सका बुद्धिजीवी फ्रेडरिकले चार वर्षको नेपाल बसाइको क्रममा सोधग्रन्थ तयार गरेका हुन् ।
शुरुका समयमा पुतली सडकस्थित ल्याङ्ग्वेज सेन्टरमा फ्रान्सेली भाषा सिकाउने उनले नेपालका राष्ट्र भाषा लोप भइरहेकोप्रति चिन्तित भएर किताब तयार गरेका हुन् ।
उनले तयार गरेको किताबमा नेपालका १२३ राष्ट्र भाषा मध्ये निश्चित ठाउँमा बहुसंख्यक नागरिकले बोल्ने भाषालाई पाठ्यक्रममा समावेत गर्न सुझाएका छन् ।
भाषा प्रयोग सम्बन्धिको सरकारी नीतिलाई सुधार गरी संरक्षण अभियानमा लाग्नुपर्ने पनि औंल्याइएको छ ।
कार्यक्रममा सहभागी वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालभाषा र बुद्धधर्म, समग्र नेपालको सम्पत्ति भएकोले राज्य स्तरबाटै संरक्षण अभियान थाल्न आग्रह गरे ।
नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउने बुद्धधर्म र बहुभाषी नेपालको रुपमा समृद्धिको पहिचान स्थापित गर्ने आधारलाई बचाइ राख्नुपर्नेमा जोड दिए ।
त्यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा। नरेशमान वज्राचार्यले संचारमैत्री नभएर नेपालका धर्म, संस्कृति र भाषामा समस्या देखिएको बताए ।
विशेषगरी नेपालको मौलिक धर्मको रुपमा रहेको बज्रयानी बुद्ध धर्ममा गोप्य तन्त्र साधन रहेका छन् ।
निश्चित व्यक्तिले मात्र थाहा पाउनुपर्ने भएर मौलिक बुद्ध धर्मलाई अन्तराष्ट्रिय स्तरमा यथोचित प्रचार गर्न सकिएको छैन ।
यी मान्यताका कारणले पनि थप अध्ययन र अनुसन्धानमा प्रभावित भइरहेको बताए ।
कार्यक्रममा फ्रान्सया काउन्सिलर आर्नो सम्पि, जनकवि दुर्गालाल श्रेष्ठ, संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपालभाषा एकेडेमीका सदस्य सचिव मल्ल के सुन्दर, पत्रकार, साहित्यकार लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्