
पोखरा । कोरोना महामारी नियन्त्रणका लागि कास्की प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पोखरामा ४ सय बढी सवारीसाधन नियन्त्रणमा लिइएको छ ।
प्रशासनले चैत १५ देखि २१ सम्म कास्की जिल्लाभर विभिन्न सेवामा निषेधाज्ञा आदेश जारी गरेको छ । सोही अनुरुप प्रहरीले बिहान ५ बजेदेखि नै अनुगमन थालेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुभास हमालले बिहानदेखि हालसम्म ४ सय १४ वटा सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिए । तीमध्ये ८२ वटा चारपाङ्ग्रे छन् । बाँकी दुई पाङ्ग्रे हुन् ।
कास्कीमा सार्वजनिक तथा निजी सवारीसाधन चलाउन जोरबिजोर लागू गरिएको छ । आज अत्यावश्यक कामका लागि बिजोर सवारीसाधन मात्र चल्न पाउने छन् ।
सहरका मुख्य चोकचोकमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
पहिलो दिन भएकोले अटेर गर्नेहरुलाई केहीबेर होल्ड गराएर राखिएको र भोलिपल्ट पनि अटेर गरे कडा कारबाही गरिने प्रवक्ता हमालले बताए ।
प्रेस तथा ड्यूटीमा निस्किएका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई छुट गरिएको छ ।
साथै कुनै अत्यावश्यक कामको लागि निस्किएकाहरुलाई पिरमर्का बुझेर छाड्ने गरिएको छ ।
पोखरामा शिक्षण संस्था, उद्योगधन्दा, पसल, पार्टी प्यालेस बन्द भएका छन् ।
स्वास्थ्य सामग्रीका पसल, उपभोग्य, खाद्यान्न र निर्माण सामग्री पसल बिहान ५ देखि राति ८ बजेसम्म खोल्न छुट दिइए पनि त्यसबाहेक बाहेकका अन्य पसलहरु बन्द गरिएको हो ।
अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भिडभाड गर्न सभा जुलुस गर्न जात्रा महोत्सव गर्न प्रशासनले निषेध गरेको छ ।
होटेल तथा रेष्टुरेन्टमा बिहान ८ देखि राति ८ बजेसम्म टेक–अवे सेवा मात्र सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्