
काठमाडौं । सरकारले पहाडी जिल्लामा २ सय र तराईका जिल्लामा ५ सय सक्रिय संक्रमित पुगे १५ दिन निषेधाज्ञा लगाउन निर्देशन दिएको छ ।
वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले पहाडी र हिमाली जिल्लाका हकमा २ सय तथा काठमाडौं उपत्यका र तराईका जिल्लाका हकमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमितको सङ्ख्या पुगेका जिल्लामा जिल्लाभरी वा जिल्लाको कुनै भागमा मात्र लागू हुने गरी वैशाख १६ गते बिहान ६.०० बजेदेखि लागू हुने गरी पन्ध्र दिनको लागि निषेध आदेश जारी गर्न निर्देशन दिएको हो ।
मन्त्रिपरिषद् निर्णयमा भनिएको छ, ‘कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारको लागि आवश्यक व्यवस्था मिलाउन सङ्क्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम प्रत्येक जिल्लाको लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने।प्रमुख जिल्ला अधिकारीले सोही अधिकारको प्रयोग गरी पहाडी र हिमाली जिल्लाका हकमा २०० तथा काठमाडौं उपत्यका र तराईका जिल्लाका हकमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमितको सङ्ख्या पुगेका जिल्लामा जिल्लाभरी वा जिल्लाको कुनै भागमा मात्र लागू हुने गरी आवश्यक परेमा जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिस लिई सम्वत् २०७८ साल बैशाख १६ गते बिहान ६.०० बजेदेखि लागू हुने गरी पन्ध्र दिनको लागि सार्वजनिक आवागमन, बजार सञ्चालन तथा अन्य सबै प्रकारका वस्तु र सेवाको आपूर्ति तथा सञ्चालनमा आवश्यक नियन्त्रण तथा नियमन गर्न आवश्यक निषेध आदेश जारी गर्ने । कोभिड-१९ सङ्क्रमणको जोखिमको आंकलन गरी निषेधको अवधि बढाउन सकिने।कुनै जिल्लामा सङ्क्रमण बढेमा प्रमुख जिल्ला अधिकारीले २४ घण्टाको पूर्वसूचना दिई उपर्युक्तबमोजिम निषेध आदेश जारी गर्ने। उपर्युक्त व्यवस्था कार्यान्वयन गर्न गराउन प्रमुख जिल्ला अधिकारीले आवश्यकता अनुसार स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार समेत प्रयोग गर्ने ।’
प्रतिक्रिया दिनुहोस्