
दिपेन्द्र अधिकारी
काठमाडौं । १५ वर्षदेखि श्रमको उचित ज्यालाको माग गर्दै त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरू आन्दोलनमा उत्रिए ।
धेरै पटक अन्तिम आन्दोलन भने पनि न्याय नपाएको भन्दै उनीहरूले फेरि पनि आन्दोलनकै बाटो रोजेका छन् । उता विश्वविद्यालय भने जहिले पनि माग सम्बोधनको प्रक्रियामा रहेको ‘रेडिमेट’ जवाफ दिन्छ ।
पटक–पटक अन्तिम संघर्ष भन्दै श्रमको उचित ज्याला तथा आंशिकलाई करारको माग राख्दै बौद्धिक वर्ग हुलहुज्जत गर्न बाध्य छन् । फेरि पनि अन्यायको शिलशिला तोड्न भन्दै आन्दोलनको विकल्प उनीहरूले देखेका छैनन् ।
हरेक पटक माग सम्बोधनको आश्वासन मात्र पाएर जिल्लिएका आंशिक प्राध्यापकहरू फेरि पनि जिल्लिएका छन् । गत पुस २४ गते भएको सहमति कार्यान्वयन नगरेको आंशिक प्राध्यापकहरूको भनाइ छ ।
विश्वविद्यालयका पदाधिकारी बौद्धिक शोषण गर्न उद्दत रहेको र पदाधिकारीको दोहोरो चरित्रका कारण माग सम्बोधन नभएको आरोप लगाउँदै आएका आंशिक प्राध्यापकहरू रजिष्ट्रार पेशल दाहाल आफूहरूको गैरजिम्मेवार भएको आरोप लगाउँछन् । तर, रजिष्ट्रार दाहाल भने आरोप स्वीकार्न तयार हुनुहुन्न ।
विश्वविद्यालय भने माग पूरा हुने प्रक्रियामा रहेको ‘रेडिमेट’ जवाफ दिन्छ । आंशिक प्राध्यापकको माग सम्बोधनको प्रक्रियामा रहेको बताउने शिक्षाध्यक्षलाई प्रक्रिया कहाँ पुग्यो भन्ने अत्तोपत्तो छैन ।
आंशिक प्राध्यापकहरूको मागमा त्रिविका पदाधिकारी जिम्मेवार नबन्दा उनीहरू मर्कामा छन् । यद्यपि प्रतिकक्षाको पारिश्रमिक बढाएको विश्वविद्यालयले आंशिक प्राध्यापकमा शुद्धिकरण आवश्यक ठानेको छ । एकातिर कोरोनाका सन्त्रास छ भने आंशिक प्राध्यापकहरू जेठ १ गतेबाट विभिन्न स्वरूपको आन्दोलनमा उत्रँदै छन् ।
अब उप्रान्त आंशिक नरहने र विश्वविद्यालयबाट फर्कँदा १५ वर्षको लगानीको सावाँ र ब्याज लिएरै फर्कने अड्डीमा आंशिक प्राध्यापकहरू छन् । पटक–पटक जिल्लिँदै आएका उनीहरू आन्दोलनको लागि तयार रहँदा विश्वविद्यालयको बौद्धिक तमासा भने टिठलाग्दो छ ।
प्रतिक्रिया दिनुहोस्