१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


७२ घन्टामा पाँच लाखले छाडे राजधानी : गाउँ फर्किन हिँडेकाहरूको कलंकीमै बिचल्ली


0
Shares

काठमाडौं । बुधबार राति घडीमा ११ : ५१ बजिसकेको छ । काठमाडौं उपत्यका छाडेर नागढुंगा नाका हुँदै गाउँ फर्किनेको कंलकीमा मेला लागेको छ । ठेलमठेल भिडमा उदयपुरकी कविता आलेमगर २१ महिने नानी काखमा च्यापेर सडकछेउमा बसिरहेकी थिइन्, छेउमा ग्यास सिलिन्डरदेखि खाटसम्मका सामान पनि थिए । उनले बेलुका ८ बजेको गाडीको टिकट काटेकी थिइन् । तर, गोंगबुस्थित बसपार्कबाट हिँडेको गाडी मध्यरातसम्म कलंकी आइपुगेको छैन ।

‘टिकट त लिइसकेको छु, तर अहिलेसम्म गाडी आएको छैन । कतिवेला आउँछ भन्ने पनि टुंगो छैन, साह्रै दुःख पाइयो,’ कविताले भनिन् । उपत्यकामा निषेधाज्ञा घोषणा भएसँगै उनलाई काठमाडौंमै बसे अघिल्लो लकडाउनमा जस्तै दुःख पाइने डरले सताउन थाल्यो । त्यसैले कोठाका सबै सामानसहित घर फर्किन लागेको उनले बताइन् । बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा लागू गर्ने घोषणा सरकारले तीन दिनअघि नै घोषणा गरिसकेको छ ।

काठमाडौंको गोंगबु बसपार्क, कलंकी, जडीबुटी, कोटेश्वर र भक्तपुर क्षेत्रमा अत्यधिक भिड छ । लामो दूरीका यात्रु नागढुंगामा दिनभरजसो जाममा परेका छन् । उपत्यकाबाहिरबाट खाली गाडी आउने र भरिएका गाडी बाहिर जाने क्रम बढेपछि त्यस क्षेत्रको आवागमन नै अस्तव्यस्त बनेको थियो ।

बिहार घर भई काठमाडौंमा बिजुलीको काम गर्ने आठजना भारतीय मजदुरको समूह विराटनगरका लागि गाडी कुरिरहेको थियो । उनीहरू ७ बजेदेखि नै कंलकीमा विराटनगर जाने गाडी कुरिरहेका थिए । तर, १२ बज्नै लाग्दासम्म गाडी नभेटिएपछि कलिम अहमदसहितको समूह सडकमै अलपत्र छ । ‘यहाँका मान्छेहरूले भोलिदेखि गाडी जाँदैन भन्छन्, अहिले जानलाई गाडी नै भेटिँदैन,’ कलिमले भने ।

राति विराटनगरको गाडी भेटिए जोगबनी नाका हुँदै भारत पस्ने योजना मजदुरहरूको छ । ‘जसलाई सोधे पनि अलि तल जाऊ गाडी पाइन्छ भन्छन्, पाँच घन्टा भइसक्यो, गाडी भेटिएको छैन,’ कलिमले भने । मध्यरातसम्म पनि उनीहरू गाडी पाइने आशामा सडकमै थिए ।

नयाँ पत्रिका