
काठमाडौं । कोभिड–१९ को असरका बाबजुद वाणिज्य बैंकहरुको नाफा बढेको छ । साउनदेखि चैत मसान्तसम्म नौ महिनामा २७ वटा वाणिज्य बैंकहरूले कुल ५० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।
समग्रमा बैंकहरूको नाफा गत वर्षको यसै अवधिको तुलनामा ६ अर्ब ७ करोड रूपैयाँ अर्थात १३.५ प्रतिशत बढेको हो । गत वर्ष यसै अवधिमा ४४ अर्ब ७० करोड रूपैयाँ खुद नाफा कमाएका थिए । नाफाका आधारमा नबिल बैंकले सबैलाई जितेको छ।
नबिलले नौ महिनामै तीन अर्ब ६७ करोड रूपैयाँ खुद नाफा कमाएको छ। नबिलसँगै ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य र एनआइसी एसिया तीन अर्बभन्दा बढी कमाउनेमा परेका छन् ।
७ मध्ये छ बैंकको नाफा घटेको छ। एभरेष्ट, हिमालयन, स्टान्डर्ड चार्टर्ड, एनसिसी, एसबिआई र सेन्चुरीको नाफा घटेको हो। बाँकी २१ बैंकको नाफा बढेको छ । वृद्धिदरका आधारमा एनएमबी सबभन्दा अगाडि छ ।
यसको ८८ प्रतिशत नाफा बढेको विवरण देखाएको छ। घट्नेमा सेन्चुरी बैंकको सबभन्दा धेरै, यो बैंकको ६१ प्रतिशत घटेको छ । गत असोजअघि कर्जा लगानीमा केही समस्या व्यहोरेका बैंकहरूले त्यसपछि भने आक्रामक कर्जा विस्तार गर्न सफल भएका थिए । यद्यपि, यसले बढाएको प्रतिस्पर्धाका कारण बैंकहरूको मूल व्यवसायबाट हुने आम्दानी घटेपछि अन्य आम्दानी बढेको हो ।
प्रतिक्रिया दिनुहोस्