२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सुदूरपश्चिम अस्पतालमा खाली छैन बेड


0
Shares

बिराज रोस्यारा

कैलाली । कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले छुट्टै कोरोना अस्पताल निर्माण गरेको थियो । ५०/ ५० बेड क्षमता भएका यी अस्पतालमा थप बेड राखे पनि सबै भरिएका छन् । प्रदेशको सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पतालमा कोरोनाका विरामीका लागि ५५ बेड राखिएको छ । हाल एउटा बेडपनि खालि छैन । अस्पतालमा थप संक्रमित आए भने भर्ना नै गर्न नसकिने स्थिति आएको छ ।

उपचार गराइ रहेका मध्ये ३ जना भेन्टिलेटर, ११ जना आईसीयू, २५ जना अक्सिजन सहायता र १५ जना अक्सिजन मोडरेटमा रहेका छन् । अब नयाँ बिरामी आए कोभिड अस्पतालमा भर्ना गर्न सक्ने अवस्था नरहेको सेती प्रादेशिक अस्पताल धनगढी सुचना अधिकारी दीलिप श्रेष्ठले बताउनुभयाे ।

कञ्चनपुरमा रहेको महाकाली अस्पतालमा पनि ५० शैय्याको कोरोना अस्पताल छ । महाकाली अस्पतालको कोभिड अस्पतालमा भने ४८ जना संक्रमित उपचार गराइ रहेकाछन् । आधा जती स्वास्थ्यकर्मीनै आइसोलेशनमा छन भने, सीमानाकाबाट दिनानुदिन संक्रमित आउने क्रम झनै बढेको छ । महाकाली अस्पतालमा जम्मा १ सय शैया मात्रै रहेको छ ।

जनशक्ति र उपकरण अभाव खेपिरहेको महाकाली अस्पतालमा कोभिडका बिरामी बढ्दै गए उपचार गर्न चुनौति हुने भएको छ । डडेल्धुरा अस्पतालमा २१ शैयाको कोभिड वार्ड बनाइएकोमा ७ जना उपचाररत छन् । त्यस कारण स्वास्थ्यका सबै मापदण्ड अपनाउन सेती प्रादेशिक अस्पताल धनगढी फिजिशियन डक्टर.निराजन दत्त शर्माले सुझाव दिनुभयो ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका १२ ओटा सरकारी अस्पतालमा जम्मा ९ सय २२ शैया रहेको स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । प्रदेशभरका सरकारी अस्पतालमा कोभिडको विरामीको उपचारको लागि २ सय ५१ शैया रहेको सरकारी दाबी छ । निजि अस्पताल सञ्चालकहरुले समेत एक सय बेड कोरोना संक्रमितका लागी छुट्याउने निर्णय गरेको जनाइएको छ ।

क्षमताले भ्याएसम्म सरकारले काम गरिरहको सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय प्रवक्ता नरेन्द्र कार्कीको भनाई छ । प्रदेशभर कोरोनाका गम्भीर बिरामी अहिलेकै गतिमा बढ्ने हो भने शय्या अभावसँगै अक्सिजन र अन्य औषधिको समेत अभाव हुने देखिन्छ । त्यसैले प्रदेशमा कोभिडसँग जुध्न चुस्त र प्रभावकारी काम गर्न तीनै तहका सरकारको समन्वय आवश्यक रहेको देखिन्छ ।