
बागलुङ । गाउँ वरपर थुप्रै खाडलहरू देखिन्छ । खाडल पुर्खाहरूले तामा निकाल्दा बनेको स्थानीय बताउँछन् । यस्ता खाडलहरू नर्जाखानी क्षेत्रमा अनगिन्ती रहेका भेटिन्छन् ।
दशकाैंअघि नर्जाखानी क्षेत्रका स्थानीय तामाखानीबाटै आत्मनिर्भर भएको अग्रजहरूकाे भनाइ छ । तत्कालीन समयमा छन्त्यालहरूले तामा उत्खनन् गर्ने, दलित जातिले धाउ निर्माण गर्ने र थकालीले खाना व्यवस्थापन गर्ने गरेको उनीहरू बताउँछन् ।
खुङ्खानी र नर्जाखानी क्षेत्रमा धेरै खानी भएकाले ‘खुबैखानी’ भन्ने गरिएकाे थियाे । ‘खुबैखानी’ बाट अपभ्रंश भएर खुङ्खानी भन्न थालिएको स्थानीयहरू बताउँछन् । गाउँ तथा जङ्गलभरी तामाखानी रहेको भन्दै यसको गणना नै गरेर नसकिने स्थानीय ओमप्रसाद छन्त्याल बताउनुहुन्छ ।
तत्कालीन समयका खानीबाट तामा निकाल्नेहरू बसोबास गरेको ठाउँमा अहिले भग्नावशेष भेटिन्छन् । तत्कालीन सरकारले अत्याधिक कर बढाएपछि स्थानीयहरूले तामा निकाल्न छोडेको उनीहरूकाे भनाइ छ । राणा शासनका तत्तकालीन प्रधानमन्त्री चन्द्र शमसेरको पालादेखि क्षेत्रमा तामाखानी बन्द भएको स्थानीयहरूको भनाइ छ ।
तमानखोला गाउँपालिका-६ का वडा अध्यक्ष कुलबहादुर छन्त्यालले गाउँभरी तामाखानी रहेकाले प्रदेश र केन्द्र सरकारले यस तर्फ ध्यान दिनुपर्ने बताउनुभयाे । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले गाउँपालिका भित्रै धेरै खानीहरु रहेको र कति खानी छन् भनेर एकिन नभएको भन्दै गाउँपालिकाले यसको तथ्याङ्क संकलन र परीक्षण गर्ने बताउनुभयो ।
स्थानीय, प्रदेश तथा केन्द्र सरकारले तामाखानीको अध्ययन गर्न जरुरी छ । साच्चिकै यस क्षेत्रका खानीबाट तामा निकाल्न सके तमानखोला मात्रै नभइ सिङ्गो मुलुककै आम्दानीको स्रोत बन्न सक्थ्याे ।
प्रतिक्रिया दिनुहोस्