
सिन्धुपाल्चोक । वरिपरी भव्य घना जंगलबीच एउटा ओरालो भिर । भिरको भित्ताभर कुदिएकोझै लाग्ने अनौठो कलात्मक शिला । बौद्ध परम्पराको ध्वजा पताका दर्जोले सजिएको भिरसँगैको गुफालाई झनै आर्कषक बनाएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा ३ भोताङ लार्केको जंगलमा रहेको अचम्मको ‘ड्राइगन गुफा’ देखेर जोकोही चकित पर्छन् ।

पाँचपोखरी थाङपाल गाउँपालिका ३ का तामाङ र शेर्पा समुदाय यहाँ कुदिँएको अनौठो कलात्मक कला र दोहोरो देखिने आकारलाई शक्तिशाली ‘ड्राइगन’को स्वरुप मान्छन् । ‘त्यसैले यसको नाम नै ‘ड्राइगन गुफा’ बन्यो ।
यहाँको कलात्मक नजारा देखेर सबै दंग छौ, यहाँको भिरको भित्तो नै अचम्मको देखिन्छ, यस्तो मान्छेले बनाउन बिलकुलै संम्भव छैन्,’ पाँचपोखरी ३ का अध्यक्ष ङिमाछिरिङ तामाङले भन्नुभयो ।

‘हण्र्डेड डेस्टिनेशन’मा परिसकेकोे पाँचपोखरीसँगै अचम्मको ‘ड्रागन गुफा’लाई पर्यटनमा जोड्दै पदमार्ग बनाउनमा कस्सिरहेको उहाँले बताउनुभयो ।
चर्चित ‘ड्रागन गुफा’लाई ह्योल्मो भाषामा ‘डुग रेन्जेन’ अर्थात ड्राइगनको शिला भन्ने गरिन्छ । यसको तल्लो गुफालाई तामाङ भाषामा नाङ्गु थिवा भन्छन्, यसको अर्थ घ्याम्पो फुटेको भन्ने अर्थ लाग्छ ।

लार्के क्षेत्रको मुख्यस्थल ड्रागन गुफाभित्रको एउटा ढुंगाबाट दुधजस्तो पदार्थ बगिरहन्छ । ‘त्यसैलाई त्यही प्राचीन पवित्र घ्याम्पोको दुध ढिस्को बनेर बसेको मानिन्छ, त्यसले पखालेमा पाप मेटिने जनविश्वास छ,’स्थानीय अगुवा शुकविर तामाङले भन्नुभयो ।
पाँचपोखरी ३, भोताङका झाँक्री रेडी तामाङ लोप्चाकाअनुसार दुई शब्तादी पहिले त्यहाँ एउटा ठुलो भिर र भित्तोको थुम्कोजस्तो मात्रै थियो । त्यहाँ केही चौरी गोठाला मात्रै बस्थ्ये । पूर्णिमाको रातमा त्यहाँ अचानक चौरीको गोठबाट भागमभाग गर्न थाले । जब गोठाला र झाक्रीले भिरमा ठुलो आगोको ज्वालासहित कुनै सर्पजस्तै जिव आनन्द लिएर नाच्दै थियो । डराएर उनीहरुले टाढैबाट त्यो घटना हेरे । ‘भोलिपल्ट ती गोठालाले ड्राइगन आकारमा ढुंगामा कुदेको कलात्मक स्वरुप भेटे, यसलाई ठुलो दैवी शक्ति मानेर पुजा गर्दैआएका छौ,’उहाँले भन्नुभयो ।

कलात्मक शिलाको बीचमा ड्राइगनको टाउको थियो, त्यसलाई दुई स्थानीयले फुटालेर चोरेर बेच्न लगे, लैजाने क्रममा दुवै जनाको तत्कालै मृत्यु भयो ।
दुई शब्तादीअघिको भएपनि तत्कालिन प्रसिद्ध झाक्री सुन तामाङसहित चार जनाले ‘ड्रागन गुफा’ र दुध गुफाको स्थान पहिचान या पत्ता लगाएको भने जनश्रुती रहेको उहाँको भनाइ छ ।

प्रत्येक मसिंर पूर्णिमाको बेला भव्य मेला लाग्ने ड्राइगन गुफाभित्र पसेर धामि झाक्री बोन्पो सिद्ध बन्ने विश्वासमा काप्छन् ।




प्रतिक्रिया दिनुहोस्