
काठमाडौं । उत्पादनमूलक उद्योगहरूले गत वर्ष भएको लकडाउन अवधिको विद्युत् डिमान्ड शुल्कमा २ अर्ब २५ करोड रूपैयाँबराबरको छुट पाएका छन् ।
सरकारले ५८ प्रकारका उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिको विद्युत् डिमान्ड शुल्क छुट दिने निर्णय गरेको थियो । सोहीअनुसार ती उद्योगहरूले सहुलियत पाएका हुन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डिमान्ड शुल्क छुटबापत लक्षित उद्योगहरूले त्यस बराबर रकम छुट दिएको जानकारी दिनुभयो ।
उद्योगहरूले पाएको छुट रकम समायोजन गर्ने काम पनि थालिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले विद्युत् डिमान्ड शुल्कमा दिएको छुट बराबरको रकम शोधभर्ना गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ ।
आवश्यक प्रक्रिया पूरा भएपछि उद्योगहरुले रकमको भुक्तानी पाउने छन् । सरकारले चालू आर्थिक वर्षको बजेटमा कोरोना तथा लकडाउनबाट प्रभावित उत्पादनमूलक उद्योगलाई विद्युत् डिमान्ड शुल्कमा छूट दिने निर्णय गरेको थियो ।
सरकारले कोरोना संक्रमण रोक्न गत वर्ष चैत ११ गतेदेखि करीब ४ महिनासम्म मुलुकभर लकडाउन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्