अमेरिकाद्वारा टर्कीमाथि आर्थिक प्रतिबन्धको घोषणा

news

वासिङटन, असोज २८ । सिरियाली कुर्द लडाकूहरूविरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै संयुक्तराज्य अमेरिकाले मंगलबार टर्कीमाथि आर्थिक प्रतिबन्धहरु लगाएको छ ।

उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्तराज्य अमेरिकी निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण सुरु गरेको थियो ।

उत्तरपूर्वी सिरियाको कुर्दिस लडाकूको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिकरूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ ।

राष्ट्रपति ट्रम्पका रिपब्लिकन सांसदहरूलेसमेत ‘इस्लामिक स्टेट’ समूहविरुद्ध लड्न अग्रसर भएका कुर्दहरूलाई मझधारमा छाडेको आरोप लगाएका छन् ।

टर्कीसँग छलफल गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स अंकारा जान लागेका छन् ।

अमेरिकाले टर्कीका दुईओटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले स्टीलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्ताहरूसमेत रोकेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई टेलिफोनमार्फत् तत्काल युद्धविराम रोक्न भनेको उपराष्ट्रपति माइक पेन्सले बताएका छन् ।

टर्कीले केहीयताबाट उत्तर र उत्तरपूर्वी सिरियामा गरेको आक्रमणपछि करिब एक लाख मानिस विस्थापित भएका छन् ।

‘जबसम्म टर्कीले युद्धविराम गर्दैन र यो विषयलाई समाधान गर्न दीर्घकालीन उपायबारे छलफल गर्न सहमत हुँदैन तबसम्म आज घोषणा भएका प्रतिबन्धहरू अझ कडा हुँदै जानेछन्’–ह्वाइट हाउसमा बोल्दै पेन्सले बताएका छन् ।

टर्कीको आक्रमणपछि पूर्वी सिरियामा कुर्दिस विद्रोहीसँगको सम्झौतापछि सिरियाली सेना सीमाक्षेत्रमा पुगेको छ ।

सेनाको प्रवेशपछि टर्की र सिरियाली सेनाबीच संघर्ष हुनसक्ने आशंका गरिएको छ ।

सिरियाली सेनाले मेन्बिज सहरमा प्रवेश गरिसकेको सिरियाली सरकारी सन्चारमाध्यमले जनाएका छन् ।

टर्कीका राष्ट्रपति एर्डोगानले जस्तोसुकै परिणाम आएपनि आफूहरू लक्ष्य पूरा नभएसम्म पछि नहट्ने बताएका छन् ।

यसअघि, सिरियाको उत्तरी सीमामा टर्कीले गरेको आक्रमणको प्रतिकार गर्न राष्ट्रपति बसर अल असदको सरकार सेना परिचालन गर्न सहमत भएको सिरियाली कुर्दहरूले बताएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा विवादास्पद कदमकारुपमा उत्तरी सिरियाबाट एक हजार अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरेको केही दिनपछि नै टर्कीले आक्रमण थालेको थियो ।

टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानले सिरियाली भूमिमा आक्रमण गर्नुको मुख्य उद्देश्य नै सुरक्षित इलाका निर्माण गर्नुमात्र रहेको बताएका छन् । उनले यो क्षेत्र सिरियाभित्र करिब ३० देखि ३५ किलोमिटरमामात्र केन्द्रित हुने जानकारी दिए ।

मानवअधिकारका लागि सिरियाली अब्जरभेटरीले टर्कीको आक्रमणबाट आइतबारमात्र कम्तीमा २६ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ । हालसम्म टर्कीको कारबाहीबाट ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । रासस/एएफपी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...