
काठमाडौं/दाङ । कोरोना संक्रमण बढेपछि विभिन्न जिल्लाहरूमा निषेधाज्ञा लगाइँदै छ ।
दाङमा पनि आज बिहानदेखि निषेधाज्ञा जारी गरिएको छ । कोरोनाको संक्रमण तीव्ररूपमा फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि ९ दिनका लागि निषेधाज्ञा गरिएको हो ।
गत मंगलबार घोराहीमा भएको सर्वदलीय बैठकले २५ गतेसम्म जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । निषेधाज्ञाको समयमा खाद्यान्नका पसल भने दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने भएको छ । यस्तै अत्यावश्यक गाडीबाहेक अन्य यातायात सञ्चालनमा रोक लगाइएको छ ।
यता, कोरोना संक्रमण बढ्न थालेपछि प्यूठान जिल्लामा पनि भोलिदेखि लागू हुनेगरी निषेधाज्ञा गरिने भएको छ । आज बसेको डिसिसिएमसिको बैठकले भोलि देखि एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खिमप्रसाद भुषालले बताउनुभयो ।
त्यस्तै समुदायस्तरमा कोरोना फैलने क्रम बढ्न थालेपछि गुल्मीमा पनि निषेधाज्ञा गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले शनिवार राति १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
यता, डडेल्धुरामा पनि आइतबारदेखि जारी हुनेगरी निषेधाज्ञा जारी गरिने भएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्