१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निषेधाज्ञामा काठमाडौंका सरकारी कार्यालय : कतै भिडभाड, कतै सुनसान


0
Shares

मिरा बस्नेत
काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको दोस्रो दिन देशको प्रमुख प्रशासनिक कार्यालय सिंहदरबार पुग्दा त्यहाँको दृश्य अरु दिनको भन्दा फरक पाइयो ।

अधिकांश मन्त्रालयमा आलोपालो गरी कार्यालयमा उपस्थित कर्मचारीहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी काम गरिरहेको पाइयो । तर, पर्यटन मन्त्रालयमा भने केही कर्मचारी जिल्लाबाहिर खटिएकाले आलोपालो गरी काम गर्न नसकिएको गुनासो सुनियो ।

सधैँ भिडभाड हुने सर्वोच्च अदालत पनि एकदम सुनसान देखियो । हुन त, अदालतले निषेधाज्ञाको अवधिमा बन्दी प्रत्यक्षीकरण र कोभिडसँग सम्बन्धित रिटमात्र सुनुवाइ गर्ने सूचना जारी गरिसकेको छ । यस्तै कानुन व्यवसायीहरूले भरिभराउ हुने सर्वोच्चसँगै रहेको नेपाल बार एशोसिएसन पनि सुनसान नै देखियो ।

यता विद्युत प्राधिकरणमा भने फाट्टफुट्ट सेवाग्राही भेटिए । स्वास्थ्य मापदण्ड अपनाएर विद्युत प्राधिकरणले सेवा दिइरहेको थियो । निषेधाज्ञा भएकोले भिडभाड पनि नभएको र सहजै सुविधा पाएको सेवाग्राहीहरू बताउँछन् ।

जिल्ला प्रशासन कार्यालयको दृश्य भने फरक थियो । उपत्यका बाहिर जान, विवाहको लागि भन्दै सरकारी पास लिनेको घुइँचो लागेको छ । काममा खटिएका सुरक्षकर्मीहरूलाई पास लिन लामबद्ध भएकालाई सामाजिक दूरी कायम गरेर बसाउन हम्मे–हम्मे परेको थियो ।

प्रशासन कार्यालयले शव लिएर उपत्यका बाहिर जानको लागि र विवाहको लागि मात्र पास दिँदै आएको छ । सवारी पास लिन घण्टौं कुर्नुपरेको सेवाग्राहीको गुनासो छ । आगामी दिनमा संक्रमण अझै उच्च विन्दूमा पुग्ने देखिएकाले सेवाग्राही र सेवाप्रदायकलाई झनै कठिनाइ भोग्नुपर्ने अवस्था आउनसक्छ । त्यसैले उच्च सावधानी अपनाउनु र सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नु नै बुद्धिमत्ता हुन्छ ।