
रोमन आचार्य
काठमाडौं । २०७७ बैशाख ११ गते राति जनता समाजवादी पार्टी बन्यो भन्दा धेरैले मिलन विन्दुको आधार खोजेका थिए । तत्कालीन ६ जना अध्यक्षले पालो सिस्टममा नेतृत्व चलाइरहेको राष्ट्रिय जनता पार्टी (राजपा) र कम्युनिष्ट राजनीतिबाट उदाएका नेताहरू मिलेर बनेको संघीय समाजवादी पार्टीबीचको एकता आफैँमा अनौठो राजनीतिक विषय थियो ।
बैशाख १० गते दल विभाजनमा सहजता थप्न प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएसँगै जसपा पार्टी बनेको थियो । आज उनै ओलीले जसपालाई फुटको संघारमा पुर्याउनुभएको छ । आफ्नै दलबाट धोका हुने र कुर्सी संकटमा पर्ने देखेपछि ओलीले जसपाभित्र राजपा खेमाको साथ खोज्न थाल्नुभएको हो ।
जसपा राजनीतिको केन्द्रविन्दु मधेश हो । पूर्व राजपा र समाजवादी पार्टी भित्रको उपेन्द्र यादव खेमाको राजनीतिक एजेण्डा पनि जसपा हो । संविधान संसोधन, प्रदेश संरचनाको पूर्नसंरचना, नागरिकताको एजेण्डा एकीकरण पूर्व दुवै दलको राजनीतिक एजेण्डा हो ।

वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक किशोर नेपालको दृष्टिकोणमा मधेशी दलहरूको एजेण्डा प्रष्ट र जायज भए पनि व्यवहारसम्मत त्यसको कार्यान्वनमा वर्तमान जसपा इमान्दार छैन । व्यवहार त्यही अनुरूप नभएको उहाँको तर्क छ । ‘माग र मुद्दा सम्बोधन गर्न जसपाका नेताहरूले जिम्मेवारी नलिएको भन्न मिल्दैन,’ नेपाल भन्नुहुन्छ, ‘उनीहरू ठूलो पार्टीका नेताहरूबाट बेवकुफ भइरहेका छन्, आशावादी बन्न बाहेक विकल्पविहीन भएजस्तो देखिन्छ ।’
‘एकीकरणको साङ्लो किन यति कमजोर भयो त ?’ अहिलेको जसपाका नेताहरूलाई सोधिने यक्ष प्रश्न यहि हो । पार्टी निर्माण भएको १ वर्ष पुग्न नपाउँदै किन विभाजनको रेखा कोरियो भन्ने प्रश्नमा पार्टीभित्र महन्थ ठाकुर निकट एक नेता भन्छन्– ‘जहाँ बाबुराम भट्टराईले खुट्टा हाल्छन्, त्यो पार्टी भताभुङ्ग हुँदो रहेछ हामी बल्ल बुझ्दै छौं ।’
यता, पूर्व समाजावादी खेमा भने पार्टीलाई राजपा बनाउन खोज्दा विद्रोह हुन खोजेको अनौपचारिक प्रतिक्रिया दिन्छन् । राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बराल एजेण्डाविहीन एकता भएको दलको भविष्य देख्नुहुन्न । ‘विजय गच्छदार, जयप्रकाशहरू पनि कुनै बेला मधेशी दलमै थिए, उनीहरू पनि फुटे,’ बराल भन्नुहुन्छ, ‘यीनीहरूको चाला पनि यस्तै हो, हतारमा मिले तर किन मिले ? सबै स्वार्थको खेल हो । खासमा यिनीहरू मिलेकै छैनन् ।’
अर्का राजनीतिक विश्लेषक प्रा.डा. राजेश गौतम जसपा जुनसुकै बेला चिरा पर्ने तर्क गर्नुहुन्छ । ‘स्वस्थ्य हिसाबले मिलन नै कहाँ भयो र उनीहरूको’, गौतम भन्नुहुन्छ ।
प्रदेशको प्रतिकम्पन
जसपा राजनीतिक संकटमा गुज्रिएको स्वयम् जसपाको नेताहरू पनि स्वीकार गर्छन् । आधा दर्जन भन्दा बढी दल र तिनका नेताको व्यवस्थापन चुनौती भएको उनीहरूको बुझाइ छ । विशेषगरी लुम्बिनी प्रदेशमा संसदीय दलको ह्विप विपरित मुख्यमन्त्री शंकर पोखरेलको कुर्सी जोगाउने खेल भएपछि पार्टीभित्रको विवाद छताछुल्ल भएको हो ।
सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै सुटुक्क मन्त्री बनेका पार्टीका ४ सांसद् पद गुमेसँगै केन्द्रमा समेत त्यसको नमाज्जाको धक्का पुगेको छ । संसदीय दलले पार्टीको निर्णय विपरित मन्त्री भएका सांसदहरू सन्तोष पाण्डेय, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई पद मुक्त गरेपछि विवादको गहिराइ बढेको हो ।

‘केही माग र मुद्दा पूरा भयो भन्दैमा ओलीको अगाडि लम्पसार बनेर कहिले सपथ ग्रहण गरेर माला लगाउने हो टुंगो छैन,’ भट्टराई निकट एक नेता भन्छन्, ‘हामीले उनीहरूलाई प्रदेशबाट झापड हानेका हौं ।’
यादव र संघीय परिषद् अध्यक्ष बाबुराम पक्षले कार्यकारिणी समितिमा बहुमत पुर्याएर उनीहरूलाई कारबाही गरिएको पत्र प्रदेश सभा सचिवालयमा पठाएसँगै अर्का अध्यक्ष महन्थ ठाकुर आक्रोशित बन्नुभएको छ । तत्कालै विज्ञप्ति निकालेर कडा प्रतिवाद गरेसँगै अब पार्टी सग्लो होला भन्ने अपेक्षा नरहेको स्वयम् नेताहरू स्वीकार गर्छन् ।

शुक्रबारमात्र निर्वाचन आयोगमा ४ सांसदको पद जोगाउन ठाकुर पुगेसँगै जसपाको भविष्यमा कालो बादल माडारिएको छ । ‘पहिलो वरियताको अध्यक्षको निर्णय सदर हुन्छ,’ ठाकुर निकट एक नेता भन्छन्, ‘यो गतिविधिले पार्टी विभाजन त भै नहाल्ला, अब एकता र पार्टी समायोजनका बाँकी काम अघि कुनै पनि हालतमा बढ्दैन ।’
भाडभैलोको पराकाष्ट
यता, यादव–भट्टराई निकट त्यी नेता ठाकुर समूहलाई पेलेर अघि बढ्ने बताउँछन् । शुक्रबारै बसेको बहुमत कार्यकारिणी सदस्यको बैठकले ओलीविरूद्धको अविश्वास प्रस्तावलाई सहयोग गर्ने निर्णय गरेसँगै ठाकुर समूहको सरकारमा जाने सपनामा तुसारापात भएको टिप्पणी गर्छन् ।
‘केही दिन भित्र हाम्रो बहुमत सदस्यले ओलीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्छ,’ उहाँ भन्नुहुन्छ । जसपाका १८ सांसदले अविश्वास प्रस्तावका लागि हस्ताक्षर गरेको उहाँको दाबी छ । तर, ठाकुर निकट नेताहरू भने त्यसलाई स्वीकार्न तयार छैनन् । ‘देउवाले ३२ जना सांसद्को हस्ताक्षर लिएर आउन भनेका छन्,’ दावासाथ उनी भन्छन्, ‘यो सबै उहाँहरूको भ्रम हो ।’
प्रतिक्रिया दिनुहोस्