
विवेक भण्डारी
नवलपुर । नवलपुरको देवचुली नगरपालिका कीर्तिपुरका बालबालिकालाई आधारभूत शिक्षा पछिको अध्ययन गर्न धौधौ छ ।
दुर्गम ठाउँमा रहेको देवचुलीमा मध्यमिक तहको विद्यालय नहुँदा बालबालिकाहरुले आधारभूत शिक्षा पछिनै अधिकाशंले पढाई छाड्ने गरेका छन् ।
पहाडी क्षेत्र र दुर्गम बस्ती रहेको यो वडाका बालबालिकाहरुलाई कक्षा आठ सम्मको पढाई पुरा गर्न पनि हम्मे हम्मे पर्ने गरेको छ । ्
कक्षा आठ उतिर्ण गरे पछि गाउँमा माध्यमिक तहको बिद्यालय नहुँदा अधिकाशंले पढाईनै छाड्ने गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएपछि दश किलोमिटर टाढा पुगेर पढ्न सक्ने अवस्था बालबालिकाको छैन् ।
गाउँबाट शहरमा बसेर पढाउन पनि परिवारले आर्थिक जोहो गर्न नसक्दा अधिकाशंले बिचमै पढाइ छाड्नुपर्ने बाध्यता छ ।
यो वडामा अहिले नेपाल राष्ट्रिय शारदा आधारभुत विद्यालय छ । त्यहा कक्षा आठ सम्ममात्र पढाइ हुन्छ ।
सो विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई कक्षा आठ पछिको बाकि पढाई सुरु गर्न दलदल, रजहर, कावासोती लगायतका शहरमा रहेका विद्यालयमा अध्ययन पुरा गर्न जानु पर्ने बाध्यता रहेको छ ।
स्थानीय तहले भौतिक विकासमा ध्यान दिए पनि शिक्षाको लागि भने योजना अहिले सम्म बनाएको छैन ।
विकट क्षेत्रमा सडक, खानेपानी, विजुली लगायतका सुविधा पु¥याए पनि किर्तिपुरका बालबालिकाहरुलाई आफ्नै गाउँमा उच्च शिक्षाको व्यवस्था अझै मिलाउन सकेको छैन ।
बालबालिकाहरुलाई उच्च शिक्षा हासिल गर्ने इच्छा हुदा पनि उनीहरु सहज रुपमा शिक्षा लिन नपाएको नेपाल राष्ट्रिय शारदा आधारभुत विद्यालयका प्रध्यानध्यापक डिल्लीराज पौडेलले बताउनुभयो ।
यता किर्तिपुर वडा नम्बर ६ का वडा अध्यक्ष भिमबहादुर सोती मगरले आफ्नो वडामा शिक्षाको विकास हुन नसकेको स्वीकार गर्नुभयो ।
आफु जनप्रतिनिधि भए पछि कक्षा छ सम्म पढाई हुने विद्यालयमा कक्षा आठ सम्म पढाई हुने वातावरण मिलाएको उहाँको भनाई छ ।
थप कक्षा संञ्चालन गर्न नसकेको र यसले बालबालिको शैक्षिक विकासमा असर परेको उहाँको स्वीकारोक्ति छ ।
किर्तिपुरका बालबालिकाहरु त एउटा उदाहरण मात्र हुन् । सरकारले समुन्नत राष्ट्रको नारा दिए पनि अझै कतिपय यस्ता दुर्गमका बालबालिकाहरु शिक्षाबाटै बञ्चित हुनुपर्ने अवस्था छ ।
यसमा संम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्