१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बैतडीको पाटन बजार बन्द, एकै गाउँका १४ संक्रमित


0
Shares

बैतडी । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि बैतडीको पाटन नगरपालिकाका बजार क्षेत्र वैशाख मसान्तसम्म पूर्ण रुपमा बन्द गरिने भएको छ ।

सर्वपक्षीय सरोकारवालाहरुको बैठकले कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि सोमबारदेखि बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेकोले यसको नियन्त्रणका लागि पाटन नगरपालिका क्षेत्रभित्रका बजार बन्द गर्ने निर्णय गरेको नगरप्रमुख केशवबहादुर चन्दले बताउनुभयो ।

उक्त अवधिमा अतिआवश्यक सामग्रीका लागि प्रहरी प्रशासनको समन्वयमा केही समय बजार खोल्न सकिने बताइएको छ ।

एकै गाउँका १४ जना संक्रमित

बैतडीको दशरथचन्द नगरपालिकाको ९ ग्वाल्लेकका १४ जनामा संक्रमण पुष्टि भएको छ ।

वैशाख १४ गते कोरोनाका कारण मृत्यु भएका दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका ३३ बर्षीय पुरुषको सम्पर्कमा रहेका १७ जना मध्ये १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

ती पुरुषको वैशाख १४ गते डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

संक्रमण पुष्टि भएकाहरु घरमै होम आइसोलेसनमा बसेका छन् । बैतडीमा हालसम्म १ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ भने, एक जनाको मृत्यु भएको छ ।