
दिपेन्द्र अधिकारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बारेमा हास्यास्पद र वैज्ञानिक रूपमा पुष्टि नभएका अभिव्यक्तिहरू दिइरहनुभएको छ ।
प्रधानमन्त्री कहिले नेपालीको प्रतिरक्षा प्रणाली बलियो छ कोरोना लाग्दैन भन्नुहुन्छ त कहिले बेसार पानी खाएर हाच्छयूँ गरे कोरोना भाग्छ भन्नुहुन्छ । पछिल्लो समय त उहाँले अस्पताल निर्माण रोक्नुपर्ने सम्मको अभिव्यक्ति दिनुभयो ।
कोरोनाको मामिलामा खेलाँची गर्दै आएको सरकार सुरुवाती समयदेखि नै आत्मरतिमा रमाउँदै तयारी गर्न लत्तो छाडेको थियो । जसले गर्दा महामारी नियन्त्रण बाहिर जाने त होइन भन्ने शंका जन्मिएको छ ।
गत माघ १४ गते भारतले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप अभियानको सुरुवातमा प्रधानमन्त्री ओलीले सबै नेपालीलाई तीन महिनाभित्र खाेप लगाउने प्रतिबद्धता जनाउनुभएकाे थियाे । तीन महिना बित्यो, न सबै नागरिकले खोप पाए, न प्रधानमन्त्रीले भनेजस्तो संक्रमण रोकियो ।
बरु प्रधानमन्त्रीले कोभिड अस्पताल निर्माण रोक्नुपर्छ भनेको तीन महिनामै कोरोनाको दोस्रो छाल आयो । सरकार फेरि निषेधाज्ञामै फर्किन बाध्य छ भने नागरिक अक्सिजनसमेत नपाएर मृत्यु शय्यामा छटपटिरहेका छन् । बेडको अभावमा अस्पताल चहार्दा-चहार्दै प्राण नागरिककाे ज्यान जान थालिसक्याे ।
देशभर अहिले स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् भने विश्वमा सबैभन्दा छिटो गतिमा नेपालमा संक्रमण फैलिरहेको तीताे यथार्थ पनि हामीसँग छ । पछिल्लो एक हप्तामा संक्रमणदर २ सय २८ प्रतिशतले बढेको छ । प्रणालीले नधानेको भन्दै थप शय्या उपलब्ध गराउन नसक्ने भन्दै सरकारले हात उठाइसकेकाे छ ।
केही दिनअघिसम्म १० औं हजार बेड भएकाे दावी गरिररहेकाे सरकार अहिले भने निरीह बनेकाे छ । सरकारले याे समयमा गरेकाे एकदमै राम्राे काम भनेकाे दैनिक संक्रमितकाे विवरण सार्वजनिक गर्ने र संक्रमितकाे संख्या प्रक्षेपण गर्ने मात्रै हाे । अहिलकाे अवस्थामा दैनिक ५ हजार बढी संक्रमित थपिएका छन् । यही गति रहे केही समयपछि दैनिक ११ हजार पुग्ने सरकारकाे प्रक्षेपण छ ।
महामारीको सुरुवाती समयमा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीन जुन तालमा नाच्न त्यही तालमा खुट्टा उचाल्न जरुरी नरहेको अभिव्यक्ति दिनुभएको थियो । कोरोना संक्रमण नियन्त्रणमा आएको भन्दै राष्ट्रपतिले समेत सार्वजनिक रूपमा उद्घोष गर्नुभयो । जसले सरकार तयारी गर्न भन्दा आत्मरतिमा थियो भन्ने छर्ल्लङ्गै हुन्छ ।
सरकारले कोरोनालाई निश्चित समय र नियमभित्र खेलिने खेल ठान्दा नागरिक संक्रमति हुँदा समेत राज्यको महसुस गर्न पाएका छैनन् ।जनस्वास्थ्यविद्को बुझाइ पनि यो भन्दा फरक छैन । मुलुककाे स्वास्थ्य प्रणाली धरमराइरहेको बेला प्रधानमन्त्रीको ध्यान आफ्नै कुर्सी जोगाउनमा केन्द्रित छ । इतिहासले यी सबै विषयकाे मूल्याङ्कन एकदिन अवश्य गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्