२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

सडक निर्माणमा बाधक बन्यो मटला भीर


0
Shares

ध्रुबसागर शर्मा
म्याग्दी ।सडक डिभीजन कार्यालयमार्फत निर्माण हुन लागेको मुना–ढोरपाटन सडक खण्ड अन्तर्गत पर्ने मटला भीरको विशाल पहरो फुटाउने काममा ढिला सुस्ती हुँदा सडक निर्माणको काम रोकिएको हो ।

जिसी कन्ट्रक्सनले निर्माणको जिम्मा लिएको मटला भीर सडक खण्डका लागि चालु आर्थिक वर्षमा सडक डिभिजन कार्यालयबाट रु २ करोड ,धौलागिरि गाउँपालिकाबाट रु २५ लाख र मालिका गाउँपालिका वडा नं २ लुलाङबाट रु १५ लाख विनियोजन भएको थियो ।

राष्ट्रिय वनको क्षेत्र भित्र पर्ने मटला भिरमा बन कार्यालयको अनुमति विना सडक निर्माण गर्न लागिएकाले मुद्धा परेपछि त्यसको छिनोफानो नहोउन्जेलसम्म लुलाङको खोरिया गाउँबाट सडकको ट्रयाक खोल्न नसकिएको धवलागिरि गाउँपालिका वडा नं २ लुलाङका वडासदस्य मतिप्रसाद पाइजाले बताउनुभयो ।

मुना–ढोरपाटन सडकखण्ड लुलाङको लमसुङदेखि खोरिया गाउँसम्म पुगेको छ । मटला भीरको पहरो फुटाएर ट्रयाक खोल्ने हो भने चालु आर्थिक वर्षमा नै खोरिया गाउँसम्म मोटर पुग्न सक्ने भएको छ ।

यो सडकको ट्रयाक खुलेर यातायातका साधनहरु संचालन भएमा म्याग्दी, बागलुङ, रुकुम, रोल्पा लगायतका जिल्लाका हजारौं सर्वसाधारणलाई सजिलो हुने वडा सदस्य मतिप्रसाद पाइजा बताउनुहुन्छ । बागलुङको बुर्तिवाङ हुँदै ढोरपाटन जोड्ने सडक भन्दा यो सडक निकै छोटो र सहज भएकाले निर्माण कार्यलाई तिब्रता दिन स्थानीयको माग छ ।

त्यसैगरी जिल्लाकै अति दुर्गम गाउँ मानिने गुर्जा जोड्ने सडक पनि यही भएकोले धौलागिरि गाउँपालिकाको पहिलो प्राथमिकतामा यो सडक रहेको धौलागिरि गाउँपालिका ३ का वडाअध्यक्ष पुर्म पुनले बताउनुभयो ।

जिल्लाको दुर्गम वस्ती र बागलुङ,म्याग्दी रुकुमलाई जोड्ने यो सडक निर्माण कार्यलाई तिव्रता दिई समयमानै ट्रयाक खोल्न सक्ने हो भने युगौंदेखि पिछिडिएका दुर्गम गाउँका नागरिकले सुविधा प्राप्त गर्न सक्ने देखिन्छ ।