
काठमाडौं । सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पतालको रूपमा प्रयोग गर्ने भएको छ ।
सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिने जानकारी दिनुभयो ।
यस्तै प्रधानमन्त्री ओलीले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिनुभएको पनि सम्बोधनमा उल्लेख गर्नुभएको छ । अब प्रदेश सरकारले प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई नन–कोभिड अस्पतालको रूपमा सञ्चालन गर्नेछन् ।
प्रधानमन्त्री ओलीले ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिने बताउनुभयो । उहाँले सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइने र लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिनुभएको छ ।
लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिने सम्बोधनमा उल्लेख छ । देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्