
पोखरा । गण्डकी प्रदेशमा प्रदेशसभा सञ्चालनका लागि सभामुख र प्रदेशका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ ।
सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभा सञ्चालनको विषयमा सहमति नभएपछि शीर्ष तहमा छलफल हुन लागेको हो । अविश्वास प्रस्ताव छलफलमा गइसकेको समयमा सभामुखले प्रदेशसभा स्थगित गरेपछि गण्डकी प्रदेशसभा गतिरोधमा फसको छ ।
वैशाख १५ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गर्नुभएको थियो ।
सभामुखले संसदीय मूल्य, मान्यता र मर्यादाविपरीत सभामुखले अनिश्चितकालका लागि बैठक स्थगित गरेको भन्दै बैठकमा सहभागी एमाले नेताले असन्तुष्टि जनाएका थिए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध ल्याएको अविश्वास प्रस्तावमा वैशाख १५ गते मतदान गर्ने कार्यसूची थियो । त्यही दिन राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही ‘सम्पर्कविहीन’ भएपछि सभामुखले अनिश्चितकालका लागि सदन स्थगित गर्नुभएको थियो ।
सम्पर्कविहीन बनेका सांसद शाही कोरोना संक्रमण भएको भन्दै १५ गते साँझ पोखराको चरक अस्पतालको आइसियूमा भेटिएका थिए । ६० जना सांसद रहेको गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव पास गर्न ३१ मत आवश्यक पर्छ । जनमोर्चा सांसद शाही मतदानमा उपस्थित नहुँदा उक्त प्रस्ताव फेल हुन्थ्यो ।
कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले भोलि सभामुख र संसदमा सहभागी संसदीय दलका नेतासँग छलफल गर्ने निर्णय गरेको बताइएको छ । गण्डकीमा एमालेको २७, कांग्रेसको १५, माओवादीको १२, जनमोर्चाको ३, जनता समाजवादी पार्टीको २ र स्वतन्त्र सांसद १ जना छन् ।
प्रतिक्रिया दिनुहोस्