
एजेन्सी । रसियाले विकास गरेको कोरोनाभाइरस विरुद्धको ‘स्पुतनिक भी’ खोपको माग अत्यधिक बढेपछि यसको उत्पादन चीनमा गर्ने तयारी सुरु गरिएको छ ।
चिनियाँ खोप उत्पादक कम्पनीसँग दुई करोड ६० लाख डोज खोप उत्पादन गर्ने बारेमा तीनवटा सम्झौता भइसकेको रसियाले जनाएको छ । यहाँबाट उत्पादित खोप दक्षिण अमेरिका, मध्यपूर्व र अफ्रिकामा आपूर्ति हुनेछन् । यी क्षेत्रका धेरै मुलुकले रसियाली खोपको माग गरेका छन् ।
अमेरिकी र युरोपेली युनियनले भने आफ्नै मुलुकका खोप अभियानमा केन्द्रित गरेपछि रसियाले अन्य मुलुकका लागि खोप आपूर्तिलाई तीव्रता दिएको छ । विगतमा रसियाको खोपका बारेमा विभिन्न आशंका गरिए पनि बेलायती मेडिकल जर्नल ‘दी ल्यान्सेट’मा प्रकाशित विवरणले स्पुतनिक भी खोप सुरक्षित रहेको र यसको प्रभावकारिता ९१ प्रतिशतको हाराहारीमा रहेको देखाएको छ ।
तापनि, विज्ञहरूले रसियाले विश्वका विभिन्न मुलुकबाट आइरहेको मागलाई पूरा गर्न सक्नेमा आशंका व्यक्त गरेका छन् । दशौं लाख डोज आपूर्ति गर्ने घोषणा र प्रतिबद्धता जनाए पनि रसियाले त्यसको केही अंश मात्र आपूर्ति गरिरहेको छ ।
स्पुतनिक भी को मागलाई पूरा गर्न रसियासँग रहेका प्लान्ट पूरै सक्षम नरहेको रसियाली अधिकारीले बताएका छन् । उत्पादन वृद्धि गर्न रसियाको डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले भारत, दक्षिण कोरिया, ब्राजिल, सर्बिया, टर्की, इटली र अरु मुलुक समेतका औषधि उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको छ । तर बेलारुस र कजाकस्तान बाहेक अन्य प्लान्टबाट पर्याप्त खोप उत्पादन हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्