
काठमाडौं । अन्तिम तयारी पूरा हुनै लाग्दा राष्ट्रिय जनगणनाको सबै कार्यक्रम तत्कालका लागि स्थगित भएका छन् ।
जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तय भएको राष्ट्रिय जनगणना २०७८ का सबै कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय सरकारले गरेको हो । कोरोना भाइरस तीव्र गतिले बढिरहेका बेला घर–घरमा पुगेर जनगणना गर्न अवस्था प्रतिकूल भएको देखाउँदै जनगणना राष्ट्रिय अभियानका निर्धारित कार्यक्रम रोक्न केन्द्रीय तथ्याङ्क विभागलाई निर्देशन दिएको छ ।
सोमबार राष्ट्रिय योजना आयोगले तथ्याङ्क परिषद्को बैठक बोलाएर सरकारले जनगणनाका तालिम लगायतका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको जानकारी तथ्याङ्क विभागलाई गराएको हो । जनणनाका लागि तालिम तथा अन्य तयारी गरिरहेको केन्द्रीय तथ्याङ्क विभागले कोरोनाको कहरका बेला कार्यतालिका अनुरुप काम गर्ने–नगर्ने निर्णयका लागि केही दिन अगाडि मात्रै मन्त्रिपरिषद्सँग जवाफ माग गरेको थियो । विभागले ९ हजार सुपरिवेक्षक छनोट गरी जिल्लातहसम्म तालिम दिइरहेको छ ।
२०७८ सालको राष्ट्रिय जनगणना नेपालको इतिहासमा १ सय १० वर्षपछि गर्न लागिएको बाह्रौँ जनगणना हो । नेपालको इतिहासमा जनगणना कार्यक्रम प्रभावित बनेको यो नै पहिलो पटक हो । ‘मेरो जनगणना मेरो सहभागिता’ नाराका साथ देशभर अभियानकै रूपमा सञ्चालन गरिन लागेको राष्ट्रिय जनगणना देश संघीयतामा गएपछि पहिलोपटक हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्