
काठमाडौं । सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत हालसम्म ८२ हजार ५ सयले मात्र रोजगारी पाएका छन् ।
कोरोना महामारी चलिरहेकै बेला चालू आर्थिक वर्षको बजेटमा सरकारले २ लाखलाई न्यूनतम रोजगारी दिने घोषणा गरेपनि हालसम्म ८२ हजार ५ सयले रोजगारी पाएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेशमा २१ हजार ५४, कर्णाली प्रदेशमा १६ हजार २०० र प्रदेश–२ मा १५ हजार ६०० ले रोजगारी पाएका छन् ।
उनीहरूले औसतमा १२ दिनको रोजगारी पाएका छन् । ज्यालाबापत अहिलेसम्म ५७ करोड ९५ लाख रुपैयाँ वितरण गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम सचिवालयले बताएको छ ।
चालू आर्थिक वर्षमा ७ लाख ५३ हजार १६६ जना बेरोजगारको सूचीमा सूचीकृत भएका थिए ।
रोजगारी पाउन योग्यलाई काम दिन चालू आर्थिक वर्षमा ७ अर्ब ८६ करोड बराबरका १० हजार ५ सयभन्दा बढी कार्यक्रम छनोट गरिएको सचिवालयले जानकारी दिएको छ ।
चालू आर्थिक वर्षमा १० अर्ब ३४ करोड बजेट रोजगार कार्यक्रम कार्यान्वयन गर्न विनियोजन गरिएको थियो ।
यसै वर्षबाट कार्यान्वयन हुनेगरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अघि बढाउन विश्व बैंकले १३ अर्ब ६५ करोड रुपैयाँ सहुलियत ऋण दिएको थियो ।
आगामी आर्थिक् वर्षका लागि प्रधानमन्त्री रोजगार कार्याक्रममार्फत रोजगारी दिन आवेदन गरिएकोमा हालसम्म ७ लाख ७ हजारभन्दा बढीको आवेदन परिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्