
स्याङ्जा । स्याङ्जा कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जामा मंगलबार बिहान देखि निषेधाज्ञा लगाईएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनु भयो । पहाडी जिल्लामा संक्रमितको संख्या २ सय कटे पछि लकडाउन गर्ने सरकारको नीति छ । जिल्लामा हाल २ सय १२ जना संक्रमित छन् ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको उल्लेख छ ।
औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरिद गर्न नजिकका पायक पर्ने स्थानमा जाने बाहेक अन्य कामका लागि हिँडडुल गर्न नपाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म १ हजार ३३ जना कोरानाबाट संक्रमित छन् । ती मध्ये ८ सय २१ जना निको भएको र २ सय १२ जना सक्रिय संक्रमित रहेको पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्याङ्जामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्