
काठमाडौं । कोभिडको बिरामीलाई आवश्यक औषधि मानिएको रेम्डेसिभिरको कार्टेलिङ गर्ने, लुकाउने, बढी मूल्य लिनेलाई विभागले कडा कारबाही गर्ने भएको छ ।
मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको कोभिड–१९ सम्बन्धी उपसमितिको छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले रेम्डेसिभिरको सहज पहुँचको लागि बजार अनुगमन कडा बनाइएको बताउनुभयो ।
कुनै बिक्रेताले औषधिको मूल्य लगायतको विक्रिमा अवैध काम गरे लाइसेन्स रद्द गराउने सम्मको कारबाही गर्न सकिने महानिर्देशक भट्टराईले बताउनुभयो । बजारमा अलिअलि अभाव भए पनि आपूर्ति नियमित गर्न ३ हजार भाइल रेम्डेसिभिर बनारसबाट मगाइएको बताउनुभयो ।
कोभिड अस्पतालको मागको आधारमा आवश्यक रेम्डेसिभिर र अत्यावश्यक औषधिको व्यवस्थापन गर्न विभागले सबै पक्षसँग समन्वय गरेर काम गरिरहेको महानिर्देशक भट्टराईको भनाइ छ ।
विभागले ५५ हजार रेम्डेसिभिर ल्याउन आयातकर्ताहरुलाई अनुमति दिएको बताएको छ । औषधिको अभावमा कोही बिरामी मर्नु नपरोस् भनेर काम गरिरहेको महानिर्देशक भट्टराईले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्