
विनादसिंह विष्ट
बैतडी । शव बोकेको जिप दुर्घटना हुँदा बैतडीमा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारी र जिप चालक तेज बहादुर बोहरा रहेका छन् ।
जिप चालक बोहराको उपचारको लागि अस्पताल ल्याउँदैै गर्दा मुत्यु भएको हो भने अन्य ४ जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल पठाइदैँछ । ।
पञ्चेश्वर गाउँपालिका ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउदै गरेको से १ ज १८३ नम्बरको जिप दिउँसो पौने ३ बजे पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो ।
हिजो राती चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको उक्त जिप दुर्घटनामा परेको हो । जिपमा मृतक वडा सदस्यको शवसहित ११ जना रहेका थिए ।
जिप सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । साँघुरो घुम्तीमा मोड्न नसकेर ब्याक गर्दा जिप दुर्घटनामा जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्