
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादीको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादीले समर्थन फिर्ता लिएको पत्र भोलि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने भएको छ । माओवादीको यो निर्णयलाई कतिपयले ‘लगनपछिको पोते’को संज्ञा दिएका छन् ।
यसैगरी प्रतिनिधिसभाको विशेष अधिवेशनको उद्देश्य राम्रो नरहेको निष्कर्ष माओवादीले निकालेको छ । माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरूले प्रधानमन्त्रीले चैत २३ भित्रै विश्वासको मत लिनु पर्ने बताए पनि संसदको बजेट अधिवेशन बोलाउनु पर्ने बेलामा विशेष अधिवेशन बोलाएको भन्दै प्रधानमन्त्रीकोे राजनीतिक आशय राम्रो नदेखिएको टिप्पणी गर्नुभयो ।
बैठकले शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई अवैधानिक रहेको घोषणा गर्ने निर्णय पनि गरेको छ भने विपक्षी दलले मुख्यमन्त्रीलाई बहिस्कार गर्ने लगायतका निर्णयलाई पार्टीले समर्थन गर्ने निर्णय पनि भएको छ । यस्तै दुई प्रदेशका प्रदेश प्रमुखलाई हटाउने सरकारको निर्णय संविधान र लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध रहेको ठहर माओवादीले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्