
काठमाडौं । उद्योगी व्यवसायीहरूले कर तिर्ने म्याद थपको माग गरेका छन् । नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स दुुबैले मंगलबार विज्ञप्ति जारी गर्दै कर विवरण तथा कर दाखिला गर्ने म्याद थपका लागि माग गरेका हुन् ।
विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड महामारी नेपालमा पनि फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा समेत संक्रमण तीव्ररूपमा बढिरहेकोले उक्त संक्रमणको रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यतिखेर अधिकांश उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका छन् र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था रहेको छैन । सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकाले आवश्यक म्याद थप गरिदिन अनुरोध गर्दछौं ।’
प्रतिक्रिया दिनुहोस्