
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बिएको छ । निषेधाज्ञा बैशाख २९ गतेसम्म लम्ब्याइएको हो । हिजो बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलपछि निषेधाज्ञा लम्ब्याइएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
बैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा आज सकिँदै गर्दा एक हप्ता थपिएको हो । साथै निषेधाज्ञालाई थप व्यवस्थित र कडाइसमेत गरिएको छ । प्रजिअ पराजुलीले केही दिन अवस्था हेर्ने र यसले पनि नपुगे अझ कडाई गर्ने जानकारीसमेत दिनुभएको छ । उपत्यकामा अब खाद्यान्न पसल बिहान दुई घण्टा मात्रै खोल्न दिने निर्णय पनि भएको छ ।
यसअघि बिहान बेलुका नै खुल्दै आएका पसल अब बिहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न पाइने छ । यसैबीच ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँ अहिले आइसोलेशनमा रहनु भएको छ ।
यता देशका ४८ जिल्लामा निषेधाज्ञा जारी भएकोे छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ४८ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा आंशिक र बाँकीमा पूर्ण निषेधाज्ञा जारी भएको छ ।
प्रतिक्रिया दिनुहोस्