२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोरोना संक्रमितको चाप बढेसँगै स्वाब परिक्षणमा समस्या (भिडियाेसहित)


13
Shares

डोलराज रानाभाट

चितवन । कोरोनाको संक्रमण फैलिदा त्यसको चाप भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा परेको छ । संक्रमण कम भएपछि कर्मचारी घटाइयो तर अहिले दैनिक स्वावको संख्या बढिरहदा न त कर्मचारी थप गरिएको छ न प्रयोगशालामा ल्याइएको आरएनए अटो एक्स्ट्राक्सन मेशीन नै जडान गरिएको छ ?

जसको मारमा प्रयोगशालाका कर्मचारीहरु परेका छन् भने सेवाग्राहीले पनि अघिल्लो दिन दिएको स्वावको रिपोर्ट भोलिपल्ट मात्रै पाउने गरेका छन् । दैनिक २ सय बढि स्वाव आउन थालिसकेको प्रयोगशालाका कर्मचारीहरु भोलिपल्ट रिपोर्ट दिनका लागि राति १२ बजेसम्म काम गर्नुपर्ने वाध्यतामा रहेको प्रयोगशालाका प्रमुख मणिराम महताको गुनासो छ ।

भरतपुर अस्पतालले प्रवाह गर्ने सेवालाई छिटो छरितो बनाउन र माथिका समस्या समाधान गर्न स्वास्थ्य विभागको आपूर्ति महाशाखाले आरएनए अटो एक्स्ट्राक्सन मेशीन मंसिरमै उपलब्ध गराएको हो । तर उक्त मेशीन अस्पतालले अहिलेसम्म प्रयोगमा ल्याएको छैन । मेशीन प्रयोगमा नआउँदा मानविय जनशक्तिले नै स्वावको एक्स्ट्राक्सन गर्नुपरेको छ ।

मेशीन जडान भएमा अहिलेकै जनशक्तिले दैनिक ५ सय स्वाव सम्म परीक्षण गर्न सक्नेछन् तर अहिले दिनरातगरी २ सय स्वाव मात्रै परीक्षण गर्न सकिएको महतको भनाई छ । भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेण्डेन डाक्टर जगन्नाथ तिवारीले भने अस्पतालको भवनमै एक महिनाभित्र उक्त मेशीन जडान गरी सेवा दिने दावी गर्नुहुन्छ ।

टेण्डर स्वीकृत भइ मेशीन जडान गर्ने पक्षसँग सम्झौता गर्ने तयारी भइरहेको उहाँको भनाई छ । एकातिर परीक्षणको दायरा बढाउँदै स्वाव परीक्षण गर्नुपर्ने वाध्यता छ भने अर्कोतर्फ अहिले प्रयोगशाला भएको कार्यालयका काम प्रभावित भइरहदा उपलब्ध भइसकेको मेशीन चाँडै जडान गरी छिटो छरितो सरकारी सेवा प्रवाहमा तदारुकता देखाउदै मानविय जनशक्तिलाई पनि आरामको समय दिन जरुरी देखिन्छ ।