१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ढोरपाटनमा नौ नाउर र चार झारलको शिकार, २५ लाख राजश्व संकलन


0
Shares

बागलुङ । ढोरपाटनमा यस वर्षको दोस्रो शिकार सिजन सकिएको छ । दोस्रो सिजनमा नौ नाउर र चार वटा झारलको सिकार भएका छन् ।

विदेशी व्यावसायिक शिकारी ढोरपाटन पुगेर निर्धारित कोटा अनुसारको नाउरको शिकार गरेका हुन् । यस सिजनमा शिकारी एउटा झारलको शिकार गर्न चुकेका छन् । दोस्रो सिजनलाई पाँच वटा झारलको कोटा निर्धारण गरिएको थियो ।

दोस्रो यामको सिकारबाट झण्डै २५ लाख रुपैयाँ राजश्व संकलन भएको आरक्ष कार्यालय ढोरपाटनले जनाएको छ । यो वर्ष लिलाम बढाबढ गर्दा नाउरको एक लाख ८१ हजारदेखि एक लाख ९५ हजार र झारलको एक लाखसम्म तोकिएको थियो ।

हरेक वर्ष पहिलो सिकार याम असोज–कात्तिक र दास्रो सिकार याम चैत–वैशाखमा हुने गर्छ । पहिलो सिजनमा नौ नाउर र पाँच झारलको शिकार अनुमति दिइएको थियो । तर, कोभिड महामारीका कारण शिकार हुन सकेको थिएन ।

पहिलो याममा एक झारल र एक नाउरको शिकार भएकोमा दोस्रो याममा भने लक्ष्य अनुरुप नै शिकार भएको प्रमुख संरक्षण अधिकृत बिरेन्द्रप्रसाद कँडेलले बताउनुभयो ।

आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी ७ ‘ब्लक’ मा शिकार खेल्ने गरिएको थियो । शिकारीहरू नेपाल ट्राभल एक्सपिडिसन, हिमालयन वाईल्डलाइफ आउटफिर्टस, ग्लोबल सफारिज र हिमालयन सफारिज मार्फत ढोरपाटन पुगेका थिए । बन्दुक, गोलीगट्ठा र सहयोगीसहित शिकारी आरक्ष आउने गरेको अधिकृत कँडेलले बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्दै आएको छ ।