
काठमाडौं । संसदको विशेष अधिवेशनको लागि ११ सय ३४ जनाको कोभिड–१९को पीसीआर परीक्षण गरिएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बुधबार ६ सय ९ र बिहीबार ५ सय २५ जनाको पीसीआर परीक्षण गरिएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानले जानकारी दिनुभयो ।
न्यौपानेका अनुसार बिहीबार ६७ जना सांसद र संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी ४ सय ५८ गरी जम्मा ५ सय २५ जनाको पीसीआर परीक्षण गरिएको हो ।
बुधबार सभामुख, अध्यक्ष, उपाध्यक्ष कर्मचारी र सांसदहरू गरी जम्मा ६ सय ९ जनाको परीक्षण गरिएकोमा ६ जनामा कोभिड पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिनेहरू जनता समाजवादी पार्टीका चार सांसद र दुई जना संसद् सचिवालयका कर्मचारी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफ्नो विश्वासको मतको अवस्था बुझ्न वैशाख २७ गते संसदको विशेष अधिवेशनको सिफारिस गर्दैै राष्ट्रपतिकहाँ पठाउनुभएको थियो । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते दिउँसो १ बजेका लागि संसद बैठक आह्वान गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्