
काठमाडौं । पछिल्लो ३ दिनमा हवाईमार्ग हुदै विदेशीने र विदेशबाट आउने यात्रुको संख्या ह्वात्तै बढेको छ ।
कोभिड–१९ संक्रमणको दोश्रो लहर भित्रिएसंगै रोकथाम र नियन्त्रणका लागि सरकारले २३ गते रातिदेखि सबै अन्तरराष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विदेश जाने र स्वदेश फर्कने यात्रुहरूको चाप बढेको हो । पछिल्ला दुई दिनमा यात्रुहरूको आवागमनमा ४० प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ ।
नेपाललाई ट्रान्जिट बनाएर तेश्रो मुलुक उडान गर्न नपाउने वैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णयपछि यात्रुको आवागमनमा कमी आए पनि १९ गतेको निर्णयसँगै आवागमनको दर वृद्धि भएको हो । सरकारले अन्तराष्ट्रिय उडान र अवतरणमा रोक लगाए पनि नेपालस्थिति विदेशी दुतावासहरूले पनि नेपालमा घुम्न आएका आफ्ना नागरिकलाई फिर्ता लगेको थियो ।
यस्तै, टे«किङ गर्न आएका पर्यटक १० दिन होटल क्वारेन्टिन बस्नुपर्ने र विभिन्न जिल्लामा गरिएको निषेधाज्ञापछि घुम्न नपाएकाहरू स्वदेश फर्कने गरेकाले यात्रुको चाप बढेको बताइएको छ । उडान रोकिने निर्णयपछि विदेशमा रहेका नेपालीहरू स्वदेश फर्कने अनुपात पनि बढेको छ ।
अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईका अनुसार मन्त्रिपरिषदको निर्णयपछि विदेशमा रहेका नेपाली स्वदेश फर्किने र श्रमका लागि विदेश जाने नेपालीहरूले पनि निर्धारित उडान अघि सारेको बताउनुभयो । आवागमन ३० देखि ४० प्रतिशत सम्म वृद्धि भएको उहाँको भनाइ छ ।
हवाइमार्गबाट बैशाख २२ गते मात्रै २ हजार २ सय ९० जना बाहिरिएका छन् भने ३ हजार ८ सय ८४ जना नेपाल भित्रिएका छन् । त्यसैगरी, २१ गते १ हजार ४ सय ४० जनाले नेपाल छोडेका छन् भने ३ हजार १ सय ८३ जना नेपाल आएका छन् ।
२० गते १ हजार २ सय ५ जना, १९ गते १ हजार ३ सय ६९ जना, १८ गते १ हजार ६ सय ९० जना र १७ गते २ हजार ५ सय ९ जना हवाईमार्ग हुदै विदेश गएका छन् । यात्रुहरुको चाप बढेपछि मंगलबार मात्रै एयर अरेबियाले ३ वटा उडान थप गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्